
काठमाडौं । सर्वसाधारण नागरिकले अनलाइनबाटै सूचना माग गर्न सक्ने भएका छन् ।
राष्ट्रिय सूचना आयोगले बिहीबारदेखि ल्याएको अनलाइन प्रणाली ‘आरटीआई म्यानेजमेन्ट सिस्टम’ जारी गरेपछि नागरिकले घरैबाट सूचनाको हक प्रयोग गर्न पाउने भएका हुन् । कुनै पनि सार्वजनिक निकायसँग सूचना माग गर्न र सूचना नपाएमा पुनरावेदन गर्न सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने छ ।
आयोगका अनुसार,rtims.gov.np लगइन गरी नागरिकले सजिलै आफूलाई चाहिएको सूचना माग गर्न सक्नेछन् । तोकिएको समयभित्र सूचना नपाएमा वा चित्त नबुझेमा सोही प्रणालीमार्फत पुनरावेदनसमेत गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यो प्रणाली पहिलो चरणमा संघीय सरकारका मन्त्रालयहरू, संवैधानिक निकाय, आयोग, विभाग र विभागस्तरका कार्यालयहरूमा लागु गरिएको छ । आयोगले यसलाई क्रमशः तीनै तहका सरकार र देशव्यापी रूपमा विस्तार गर्दै लैजाने योजना बनाएको छ ।

























