
विराटनगर । सुनसरीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रामधुनी नगरपालिका–६ स्थित चतरा–कान्छी चोक सडक खण्डमा बिहीबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चतराबाट इटहरीतर्फ आउँदै गरेको को १४ प ४५८ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा इटहरीतर्फ नै आउँदै गरेको को ३७ प ३८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर स्कुटर चालक रामधुनी–५ का ५० वर्षीय गणेश राजधामीको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका राजधामीको उपचारका क्रममा शुक्रबार बिहानका राति १ः२५ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ का १९ वर्षीय संगम चौधरी पनि घाइते भएका छन् । मध्यम अवस्थाका उनको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।
दुर्घटनामा परेका मोटरसाइकल र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

























