
काठमाडौं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन् । ६२ वर्षीय लम्सालले शुक्रबारदेखि लागू हुने गरी राजीनामा बुझाएको सर्वोच्च अदालतका सह–रजिस्ट्रार अच्युत कुइँकेलले बताए ।
हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत लम्सालले स्वास्थ्य अवस्था र घरायसी कारण देखाउँदै राजीनामा दिएको उल्लेख गरिएको छ । उनी २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।
न्यायपालिकामा अझै १ वर्ष सेवा अवधि बाँकी रहेको अवस्थामा उनले स्वेच्छाले पद त्याग गरेका हुन् । लम्सालको राजीनामा सर्वोच्च अदालतमार्फत राष्ट्रपति समक्ष पेस हुने प्रक्रिया अगाडि बढाइएको छ ।
न्यायपालिकामा बढ्दो दबाब, कार्यभारको बोझ र व्यक्तिगत परिस्थितिले पनि न्यायाधीशहरू समयअगावै राजीनामा दिन थालेको यो पछिल्लो उदाहरण बनेको छ ।

























