Blue Breaking News YouTube Channel Art - 1काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको अभियानबीच एकता घोषणा भएको छ । शुक्रबार अभियान र पार्टीबीच एकता भएको हो ।
एकता घोषणा समारोहलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग एकताको सम्भावना नभएको बताए ।
‘अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँ भित्रको अवस्था हामीले देखिरहेका छौं,’ उनले भने,‘ त्यसप्रति लसपस कसैको छ भने मेरो भन्नु केही पनि छैन ।’
उनले पार्टीलाई बलियो बनाउनका लागि भूमिका खेल्न आग्रह गरे । ‘विचार सिद्धान्त मिलेको खण्डमा अरु कुरा पनि मिलेको खण्डमा त्यस्ता–त्यस्ता समूहसँग मिलेर पनि अघि जानसक्छौं,’ अध्यक्ष नेपालले भने, ‘हामी त्यसलाई पहिलो महत्व दिँदैनौं । पहिलो महत्व आफ्नो पार्टी एक बनाउन लाग्छौं । आफ्नो पार्टी बलियो भयो भने मात्रै अरुसँगको एकता सार्थक र अर्थपूर्ण हुन्छ ।’
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताए । ‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ । एकीकृत समाजवादीसम्म आउन मलाइ ४ वर्ष लाग्यो,’ उनले भने,‘ ४ वर्षपछि मैले भनेजसरी हामी एकीकृत हुँदैछौं ।’ पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुँदा आफू अत्यन्त खुसी भएको बताउँदै त्यो खुसी टिक्न नसकेको गुनासो गरे ।
























