फाइल तस्बिरविराटनगर । जंगली हात्तीले झापाका ६ वटा घरमा क्षति पुर्याएको छ । भद्रपुर नगरपालिका–६ नयाँ बस्ती र भद्रपुर–४ रंगेडाँडामा आइतबार बिहानका राति क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
हात्तीले भद्रपुर–६ का श्रीप्रसाद माझीको घरको टाटीबेरा, बरन्डाको टिन, ३ वटा साइकल, काठको टेबल, डाइनिङ टेबल, त्रिपालसमेतमा क्षति पुर्याएको छ । हात्तीले १५ मन धानसमेत खाइदिँदा ५० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यस्तै, हात्तीले फलेन्द्र राजवंशीको टिनको बेरा भत्काउँदा ५ हजार, बदन राजवंशीको भान्सा घर भत्काउँदा १० हजार, तिली राजवंशीको इँटाको पर्खाल, ढोका र कल भत्काउँदा २० हजार बराबरको क्षति पुगेको छ । ओमप्रकाश राजवंशीको घरको पर्खाल भत्काएर ४ बोरा आलु हात्तीले खाँदा २० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
यसैबीच, भद्रपुर–४ का शुक्रराज डंगोलको टिनको छानो र इँटाको पर्खाल भएको भण्डार कोठा भत्काउँदा १५ हजार बराबरको क्षति पुगेको छ । प्रहरीका अनुसार हात्तीले १ लाख २० हजार रूपैयाँभन्दा बढीको क्षति पुर्याएको छ ।

























