
विराटनगर । मोरङको केराबारी गाउँपालिका–५ स्थित बुढीखोला (वृद्ध खोला) किनारमा ‘पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोम’ हुने भएको छ ।
शिव बाबा भक्त समाज नेपाल, धरान–६ पानबारी सुनसरीको आयोजनामा माघ १९ गतेदेखि फागुन १९ गतेसम्म भव्य धार्मिक अनुष्ठानका साथ कोटीहोम आयोजना गरिने आयोजकले जनाएको छ ।
आयोजक समितिका अध्यक्ष रमेश कुटवालले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त महायज्ञमार्फत धर्म, संस्कृति, परम्परा र अध्यात्मिक चेतनाको संरक्षण तथा प्रवद्र्धन गर्ने लक्ष्य लिएको जानकारी दिए । उनका अनुसार, यज्ञस्थलमा चैत्य गुम्बा, १०८ गौमुखी जलधारा तथा १०८ फिट अग्लो त्रिशुल स्थापनासहित समावेशी गुरुकुल, यज्ञशाला, पाठशाला, पाकशाला, गौशाला तथा असहाय बाल–वृद्धका लागि आवासको व्यवस्था गरिनेछ ।
महायज्ञको विशेषता भनेकै यज्ञस्थलको पवित्रता र महत्वमा रहेको उनले बताए । बुढीखोलाको किनारमा अवस्थित स्थललाई अति पवित्र वृद्धगंगा नदीको काखका रूपमा लिइएको छ । आयोजकका अनुसार, यो नदी शिवजट्टाबाट उत्पत्ति भएकी देवी वृद्धगंगाको रूपमा चिनिन्छिन् । संकल्पकर्ता माता सन्जनाका अनुसार वृद्धगंगाको जलले सम्पूर्ण भौतिक दुःख, कष्ट तथा पाप नाश गरी मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ । ‘
कोटीहोमको पूर्वसन्ध्यामा माघ १९ गते बिहान १० बजे बुढीगंगाको किनारबाट कलश यात्रा निकालिनेछ । सो कलश यात्रामा हजारौँ श्रद्धालुको सहभागिता रहने आयोजक समितिको अपेक्षा छ । कलश यात्राबाट यज्ञ स्थलमा आध्यात्मिक ऊर्जा सञ्चार गराउने परम्परा अनुरूप कलश यात्रा आयोजना गर्न लागिएको समितिले जनाएको छ ।























