फाइल फाेटाेविराटनगर । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको मेची राजमार्ग अझै खुलेको छैन । राजमार्ग नखुलेका कारण ताप्लेजुङ जिल्लाको तराईसँगको सम्पर्क टुटेको छ ।
पाँचथरमा हेवा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आइतबार बिहानबाट राजमार्ग अवरुद्ध भएको थियो । पानी घटेका कारण यातायात सुचारु गर्ने प्रयास भइरहेको छ ।
प्रहरीका अनुसार मेची राजमार्गसँगै मध्यपहाडी लोकमार्ग र तमोर करिडोरसहित देशका मुख्य राजमार्गको ६ स्थानमा बाढी– पहिरोका कारण अवरुद्ध छ । पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा छन् ।
कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ ।
नेपाल प्रहरीले आज बिहान ध्यावधिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
पाँचथरकै तुम्वेवा गाउँपालिका २ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ३ तरङखोलामा बाढीका कारण बाटो अवरुद्ध छ ।
रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ र २ मा पनि पहिरोले गर्दा शहीद राजमार्ग अवरुद्ध छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी कोरिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
काठमाडौंको टोखा नगरपालिका २ अविरल वर्षाका कारण सडमा क्षति हुँदा काठमाडौं–नुवाकोट सडकखण्ड एकतर्फी सन्चालनमा छ ।

























