
काठमाडौं । नेकपा (एमाले)मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाबारे सार्वजनिक बहस चलिरहेको छ । यही अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिएका छन् ।
पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुआतमा अध्यक्ष ओलीले यस्तो संकेतपूर्ण सन्देश दिएका हुन् । उनले भण्डारीको नाम प्रयोग गरेर पार्टीभित्र खेल्ने प्रयास भइरहेको भन्दै असन्तोष व्यक्त गरे ।
ओलीले भने, ‘विद्याजीले अहिलेसम्म के गर्नुहुन्छ भनेर केही भन्नुभएको छैन । तर, केहीले प्रवक्ताजस्तो भूमिका खेलिरहेका छन् । त्यो किन पर्यो ?’ उनले चुनावमा पराजित भएका केही नेताहरू विद्यादेवी भण्डारीको वरिपरि घुमिरहेको उल्लेख गर्दै आपत्ति जनाए । ‘चुनाव हारेर पनि पछ्याउने ? जताततै पछ्याउने ? यस्तो हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै १ नेताले भने ।
पूर्वराष्ट्रपति भण्डारीसँग हालै बालुवाटारमा भेट भएको प्रसंगसमेत अध्यक्ष ओलीले बैठकमै स्पष्ट गरे । उनले भने, ‘विद्याजीलाई म बालुवाटारमै बोलाएको थिएँ । उहाँले भन्नुभयो, ‘म पार्टी कार्यालय च्यासल कहिल्यै गएको छैन । त्यसैले च्यासलमा भेटियो ।’
ओलीले यस विषयलाई अनावश्यक रूपमा ठूलो बनाइएको भन्दै असन्तोष पनि पोखे । भने, ‘पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो ?’ ओलीले पार्टीभित्र भित्रिएको अस्वस्थ प्रवृत्तिप्रति चिन्ता जनाउँदै त्यसलाई नियन्त्रण गर्ने दृढता पनि व्यक्त गरे ।
उनले पार्टीमा कुनै हालतमा गुटबन्दी, अस्वस्थ चलखेल र अनुशासनविहीनता सह्य नहुने बताए । ‘अस्वस्थ गतिविधि भयो भने कुनै हालतमा सहेर बस्दिनँ,’ उनले बैठकमा भने ।
राजनीतिक प्रतिवेदनको मौखिक व्याख्याका क्रममा ओलीले विगतका राजनीतिक संघर्ष र पार्टीमाथि भएका आक्रमणहरूको पनि स्मरण गरे । ‘हाम्रो आन्दोलनले सधैँ हमला बेहोर्दै आएको छ । सन् १९५१ देखि १९५६ सम्म पार्टीमाथि प्रतिबन्ध लगाइयो । अहिले पनि झुट, अफवाह, बेइमानी, स्तरहीन टिप्पणी हुँदैछन्,’ ओलीले भने ।
यही सन्दर्भमा उनले ‘मिसन ०८४’ अर्थात् आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने कुरामा जोड दिए । ‘हामीले मिसन ८४ भनेका छौँ, बहुमत नभइ काम गर्न सकिन्न । एकमना एकता नभइ हाम्रो नीति लागु गर्न सकिन्न,’ ओलीले भने । उनले बहुमतको राजनीतिका लागि नेताहरूलाई स्वार्थको सानो कुरामा नअल्झन आग्रह गरे ।
बैठकमा अध्यक्ष ओलीले ७० वर्षे उमेरहद हटाउने विषयमा पनि बोले । सातौँ महाधिवेशनमा आफैले उमेरहदको प्रस्ताव ल्याएको भए पनि अहिलेको परिस्थिति फरक भएको उनको जिकिर थियो ।
























