अनलाइन टिभीको ‘एआई आचारसंहिता’ जारी

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार १७:१०

काठमाडौं । अनलाइन टिभी पत्रकार सङ्घले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको छ । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी भएको यो पहिलो पटक हो ।

काठमाडौंमा आज आयोजित आचारसंहिता घोषणा समारोहमा सङ्घका अध्यक्ष जीवन भण्डारीले १२बुँदे आचारसंहिता जारी गरे ।

सङ्घले जारी गरेको आचारसंहितामा प्रस्तावित राष्ट्रिय एआई नीति–२०८१ का मर्म र उद्देश्यलाई मध्यनजर गर्दै एआई आचारसंहिता जारी गरिएको उल्लेख छ ।

एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परीक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशित गरिने आचारसंहिताको पहिलो बुँदामा लेखिएको छ ।

एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचार संहितामा उल्लेख गरिएको छ ।

व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्ने गरी एआईको प्रयोग नगरिने अनलाइन टिभी पत्रकार सङ्घले प्रतिबद्धता गरेको छ ।

अनलाइन टिभी पत्रकार सङ्घमा आबद्ध सबै अनलाइन टिभी पत्रकारले आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने र त्यसको अनुगमन सङ्घले आफ्नो तरिकाले गरिरहनेलगायतका विषय आचारसंहितामा लेखिएको सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले जानकारी दिए । इन्टरनेटमा श्रव्यदृश्य पत्रकारिता गर्दै आएका सञ्चारकर्मीको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार सङ्घले यसअघि २०७७ सालमा अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.