
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०८१–८२ मा २८ हजारभन्दा बढी नयाँ नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वंशजका आधारमा २७ हजार १ सय २१ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन् । १ हजार १ सय २३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् भने २६ हजार ४ सय २६ जनाले नागरिकताको प्रतिलिपि लिएको यादवले बताए ।
मोरङ प्रशासनले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार १ वर्षको अवधिमा ९८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । ८ जनाको नागरिकता रद्द गरिएको जानकारी प्रजिअ यादवले दिए ।
सरकारले प्राथमिकतामा राखेको राष्ट्रिय परिचयपत्र कार्यक्रमले पनि मोरङमा तीव्रता पाएको देखिन्छ । कार्यालयले ७८ हजार ६ सय ८८ जनाको विवरण राष्ट्रिय परिचयपत्रका लागि दर्ता गरेको छ । २६ हजार ९ सय २५ जनालाई परिचयपत्र वितरण भइसकेको उनले बताए ।
उनका अनुसार राहदानी सेवा पनि प्रभावकारी रूपमा सञ्चालन गरिएको छ । जिल्ला प्रशासनको प्रतिवेदन अनुसार १ वर्षको अवधिमा ३१ हजार १ सय ६१ वटा राहदानी वितरण गरिएको छ ।
नागरिकता, परिचयपत्र र राहदानी सेवा बाहेक शान्ति सुरक्षा, अपराध नियन्त्रण, बजार अनुगमन, विपद् व्यवस्थापन र अन्य प्रशासनिक सेवालई प्रभावकारी बनाइएको प्रजिअ यादवको भनाइ छ । कार्यालयले विपद् पीडितलाई २४ लाख ३९ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा कार्यालयमा ४ सय ७७ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ३ सय ६० वटा मुद्दा फछ्र्यौट भएका छन् । प्रशासन कार्यालयमा परेका ४ सय ३५ वटा निवेदनमध्ये ३ सय २७ वटा निवेदनको टुंगो लगाइएको छ ।
प्रशासन कार्यालयले सेवा प्रवाहसँगै राज्यको राजस्वमा उल्लेखनीय योगदान दिएको छ । प्रतिवेदनअनुसार हातहतियार दर्ताबाट ९ लाख ४३ हजार ७ सय ५० रुपैयाँ, राहदानी दस्तुरबाट ११ करोड १२ लाख ६३ हजार रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट १२ लाख ४९ हजार रुपैयाँ र प्रशासनिक जरिबाना, दण्ड तथा जफतबाट ११ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रजिअ यादवले बताए ।
यस्तो छ मोरङ प्रशासनको वार्षिक प्रगति प्रतिवेदन

























