धरानमा बसको डिकीबाट ९ किलो गाँजा बरामद, २ जना यात्रु पक्राउ

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ६, मंगलबार ११:५२

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१३ निशाने डाँडामा यात्रुवाहक बसको डिकीबाट ९ किलो गाँजा बरामद भएको छ ।

धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको बसलाई अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले चेकजाँच गर्दा डिकीमा गाँजा भेटिएको हो । सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विशेष सूचनाका आधारमा सोमबार साँझ ६ः२० बजेतिर बस रोकेर चेकजाँच गरिएको थियो ।

चेकजाँचका क्रममा कालो रंगको झोला पोको पारेर राखिएको ९ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा बरामद भएसँगै प्रहरीले बसका २ जना यात्रुलाई पनि पक्राउ गरेको छ ।

बसामा यात्रा गरिरहेका इटहरी उपमहानगरपालिका–७ का २४ वर्षीय सुरेश खत्वे र इटहरी–८ का २० वर्षीय तुलसी पासवानलाई पक्राउ गरिएको डीएसपी खतिवडाले बताए । उनका अनुसार सोधपुछका क्रममा उक्त गाँजा खत्वे र पासवानले ल्याएको पत्ता लागेपछि दुवै जनालाई पक्राउ गरिएको हो ।

दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.