घुस प्रकरणमा रञ्जिता श्रेष्ठ पुगिन् अख्तियार

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ७, बुधबार १४:४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ।

कास्की मालपोत कार्यालयका प्रमुखको थमौती तथा सरुवासम्बन्धी अडियो प्रकरणमा संलग्नताको आशंका बढेपछि अख्तियारले उनलाई बुधबार बिहान १० बजेदेखि उपस्थित गराई सोधपुछ थालेको हो। आयोग स्रोतका अनुसार हालै सार्वजनिक भएको घुस अडियोको छानबिनका क्रममा श्रेष्ठको समेत संलग्नता भेटिएपछि उनलाई बयानका लागि बोलाइएको छ ।

उक्त अडियो मालपोत कास्कीका प्रमुखको सरुवासँग जोडिएको छ । जसमा रकम लेनदेनबारेको संवाद रहेको जनाइएको छ। प्रकरणको मूल अनुसन्धान निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग सम्बन्धित छ।

गुप्ताको अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्र्याकिङका क्रममा अख्तियारको अनुसन्धान टोलीले केही शंकास्पद फोनकल र सन्देश फेला पारेको थियो। ती विवरण खोतल्दा तत्कालीन भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठले पनि तिनै व्यक्तिसँग रकम माग गरेको भेटिएको अख्तियार स्रोतको दाबी छ।

श्रेष्ठका निजी अंगरक्षक (पीएसओ)को मोबाइलबाट समेत लेनदेन सम्बन्धी आशंका हुने सन्देश आदान–प्रदान भएको देखिएको अख्तियार स्रोतले बतायो । त्यसैले थप छानबिन र प्रमाण संकलनका लागि उनलाई उपस्थित गराइएको हो।

अख्तियारले अडियो प्रकरणसँग जोडिएका अन्य व्यक्तिहरूको समेत कल विवरण, सन्देश र बैंक कारोबारको निगरानी गरिरहेको छ। नागरिक उन्मुक्ति पार्टी र अध्यक्ष श्रेष्ठले यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

पूर्वमन्त्री श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा यो प्रकरण सतहमा आएको थियो। पार्टीगत र व्यक्तिगत पहुँच प्रयोग गरेर सार्वजनिक पदको दुरुपयोग भएको आशंकामा अख्तियारको अनुसन्धान टोलीले थप प्रमाण जुटाउने प्रयास गरिरहेको छ।

यसअघि सोही प्रकरणमा अख्तियारले राजकुमार गुप्तालाई पनि छलफलका लागि बोलाइसकेको छ। अडियो काण्डले सतहमा ल्याएको राजनीतिक तहसम्मको पहुँच र त्यसको प्रयोगबारे प्रश्न उठिरहँदा आयोगको अनुसन्धान उच्च संवेदनशील मानिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.