स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र : कुनचाहिँ कुलङ्घारले बीपीलाई जग्गा दिइ पठाएछ, फिर्ता गरिदिनु’

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ७, बुधबार १७:१२

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पताल निर्माण गर्ने भनिएको जग्गा फिर्ताको माग गर्दै संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् । तर, उनले पठाएको पत्रको भाषा शैली मर्यादित छैन ।

अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । Please फिर्ता गरिदिनु होला । धन्यवाद ।’

पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय र बीपी प्रतिष्ठानलाई पनि दिइएको छ ।

बीपी प्रतिष्ठानले भने मेयर साम्पाङको अभिव्यक्तीप्रति असन्तुष्टि जनाएको छ । प्रतिष्ठानले नगर प्रमुखले भनेको जग्गा ऐन अनुसार नै प्रतिष्ठानको रहेको उल्लेख गरेको छ ।

‘हाम्रो पुरानो अस्पताल भनिएकोमा धरान छाताचौक स्थित पुरानो अस्पताल तथा स्वयम् वी.पी. कोइराला स्वास्थ्य प्रतिष्ठान पनि आम धरानवासीको धरोहर तथा सम्पति भएको तथ्यअवगत गराइन्छ,’प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै भनेको छ,‘प्रतिष्ठान स्थापना भए पश्चात तत्कालिन श्री ५ को सरकारको मिति २०४८ –१०–०४ को निर्णय बमोजिम साविकको धरान बजार स्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको व्यहोरा समेत सर्वसाधारणलाई अवगत गराइन्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.