
विराटनगर । कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ ।
पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई निर्देशन दिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका कारण मातहतका सबै युनिटमा परिपत्र जारी गरिएको हो ।
गत असारमा महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरिसकेको छ । सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो ।
प्रवक्ता घिमिरेले जघन्य अपराधका घटना वा त्यस्ता तस्बिर र भिडियो सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने जनाइएको छ ।

























