
भक्तपुर । एउटै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा दिदीबहिनी मृत फेला परेका छन् ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा २ किशोरीको शव फेला परेको हो । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृर्जना कँडेल एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।
दुवै जना निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बस्दै आएका थिए । उनीहरुलाई घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा भेटिएको न्यौपानेको भनाइ छ ।
मेनुका र सृर्जना एकै घरका दिदीबहिनी हुन् । घरधनीका अनुसार उनीहरु २ सातादेखि डेरा बस्न थालेका हुन् ।
प्रहरीका अनुसार परिवारसँग भारतको मुम्बइमा बस्दै आएका उनीहरू १५ दिनअघि मात्रै काठमाडौं आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतकका बुवा मुम्बइबाट काठमाडौं आउँदै गरेको र उनी आइसकेपछि मात्रै घटनास्थलमा कानुनी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

























