
काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
दुवै दलले निरन्तर बैठक बहिष्कार गरिरहेका छन् । बिहीबार ५९ औं पटक बैठक बहिष्कार गरेका हुन् । बैठक सुरु हुने बित्तिकै २ दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
सांसदहरूले भिजिट भिसा प्रकरणमा गम्भीर भ्रष्टाचारको आशंका रहेको र त्यसमा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरे । सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद डा. तोसिमा कार्कीलाई बोल्न अनुमति दिएपछि उनले सरकारमाथि कडा टिप्पणी गरिन् ।
कार्कीले वर्तमान सरकार दमनकारी शैलीमा अगाडि बढेको, सुशासनको नारा लगाउँदै जनताको पक्षमा बोल्नेहरूलाई जेल हाल्ने र भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूलाई संरक्षण दिने काम गरिरहेको आरोप लगाइन् । उनले छानबिन गर्नुपर्ने व्यक्तिकै संयोजकत्वमा समिति बनाइनु स्वीकार्य नहुने बताउँदै रास्वपाको आन्दोलन जारी रहने स्पष्ट पारिन् ।
यता राप्रपाका सांसद दीपकबहादुर सिंहले पनि संसदीय छानबिन समिति गठन नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरे । साथै, उनले गंगालाल अस्पतालमा १५ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचारका लागि सरकारले विनियोजन गर्नुपर्ने रकम नदिँदा सेवा प्रभावित भएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए ।
विरोधका बीच सभामुख घिमिरेले बैठकको कार्यसूची अगाडि बढाएका थिए । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरू प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै बाहिरिए ।
























