
काठमाडौं । विश्वभरिका राहदानीहरूको अन्तर्राष्ट्रिय पहुँच क्षमता मापन गर्दै आउने ‘हेन्ली पासपोर्ट इन्डेक्स’ले २०२५ को सूची सार्वजनिक गर्दा नेपाल फेरि पनि कमजोर सूचीमै परेको छ ।
सार्वजनिक गरिएको नयाँ सूचीअनुसार नेपाल ९५ औं स्थानमा रहेको छ । यो सूचीमा जम्मा ९९ देश रहेका छन् । नेपालसँगै ९५ औं स्थानमा लिविया पनि परेको छ ।
नेपालभन्दा पछाडि रहेका केही मुलुकहरूमा यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया र अन्त्यमा अफगानिस्तान छन् । जसले गर्दा नेपाल विश्वकै कमजोर राहदानी भएका केही देशमध्येमा परेको पुष्टि हुन्छ ।
दक्षिण एसियाली मुलुकहरूको हैसियत हेर्दा पनि नेपालको स्थान कमजोर देखिन्छ । भुटान ८४ औं स्थानमा छ भने भारत ७७ औं स्थानमा रहेको छ। सबैभन्दा राम्रो स्थानमा माल्दिभ्स ५३ औं स्थानमा पुगेको छ। अन्य कमजोर सूचकांकमा परेका देशहरूमा बंगलादेश, इरिट्रिया, प्यालेस्टाइनी टेरिटोरी, उत्तर कोरिया, सुडान र श्रीलंका छन्।
हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार राहदानीको शक्तिशाली सूचीको शीर्ष स्थानमा सिंगापुरले कब्जा जमाएको छ । सिंगापुरका नागरिकले विश्वका अधिकांश मुलुकमा सजिलै भिसाविनै यात्रा गर्न सक्ने सुविधा पाइरहेका छन् ।
सिंगापुरपछि जापान र दक्षिण कोरिया दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली र स्पेन छन् ।
चौथो स्थानमा अष्ट्रिया, बेल्जियम, लक्जेमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल र स्वीडेन छन् भने पाँचौं स्थानमा ग्रिस, न्युजील्यान्ड र स्वीट्जरल्याण्ड रहेका छन् । बेलायत छैटौं, अष्ट्रेलिया, चेकिया, हंगेरी, माल्टा र पोल्यान्ड सातौं स्थानमा छन् ।
आठौं स्थानमा क्यानडा, इस्टोनिया र संयुक्त अरब इमिरेट्स छन् । नवौंमा क्रोएसिया, लेटभिया, स्लोभाकिया र स्लोभेनिया रहेका छन् भने दसौं स्थानमा आइसल्यान्ड, लिथुआनिया र अमेरिका रहेका छन् ।
विगत वर्षहरूमा जस्तै यसपटक पनि नेपालको राहदानी अन्तर्राष्ट्रिय मञ्चमा कमजोरकै सूचकांकमा परिरहनु चिन्ताजनक विषय हो । सरकारी कूटनीतिक प्रयास, आप्रवासन तथा भिसा नीतिमा सुधार र वैदेशिक सम्बन्ध सुदृढीकरणको अभावले नेपाल निरन्तर पछाडि परेको विश्लेषण गरिएको छ ।

























