मन्त्री हेरफेरको तयारीमा प्रधानमन्त्री

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ८, बिहीबार १९:१९

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा लागेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठक सकिएपछि उनी अहिले बालुवाटारमै बसेर मन्त्रीहरूको मूल्यांकन र सम्भावित हेरफेरबारे गम्भीर गृहकार्यमा जुटेका हुन् । बालुवाटार स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागी भएनन् ।

बालुवाटारमै रहँदै मन्त्रीहरूको कामको मूल्यांकनमा केन्द्रित भए । प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्दा उनीहरूलाई १ वर्षको समय दिने र त्यसपछि कामको आधारमा समीक्षा गरिने बताएका थिए । अहिले त्यो अवधि पूरा भएको छ । त्यही भएकाले पुनर्गठनको समय आएको प्रधानमन्त्रीको बुझाइ छ ।

तर, सत्तारूढ गठबन्धनको अर्को प्रमुख घटक नेपाली कांग्रेससँग प्रधानमन्त्रीले मन्त्री हेरफेरबारे औपचारिक छलफल भने अझै गरेका छैनन् । बालुवाटार स्रोतका अनुसार अनौपचारिक रूपमा कुरा भएको हुन सक्छ । तर, औपचारिक रूपमा कांग्रेससँग मन्त्रिपरिषद् पुनर्गठनबारे संवाद भइसकेको छैन ।

प्रधानमन्त्री ओली नेपाली कांग्रेसले चाँडै निर्णय देओस् भन्ने पक्षमा छन् । कांग्रेसले आफ्ना मन्त्री परिवर्तन गर्छ वा गर्दैन भन्ने चाँडै बताइदिएपछि एमालेका तर्फबाट पनि हेरफेर प्रक्रिया अघि बढाउने ओलीको तयारी छ । ‘कांग्रेसले केही नगरोस् । एमालेतर्फबाट भने केही मन्त्री पक्कै बदलिन्छन् । कार्यक्षमताका आधारमा केहीले निरन्तरता पनि पाउनेछन्,’ स्रोतले भन्यो ।

उता, कांग्रेसका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने हालसम्म मन्त्री फेर्नेबारे कुनै छलफल नभएको बताए । ‘अहिलेसम्म त्यसबारे कुनै कुराकानी भएको छैन,’ उनले भने ।

एमालेभित्र भने कतिपय मन्त्रीहरूको आलोचना भइरहेको छ । कार्यक्षमता कमजोर रहेको, विवादमा मुछिएका तथा पार्टीको प्रतिष्ठामा आँच आउने गरी आचरण गरेका मन्त्रीहरूलाई हटाउनुपर्ने आवाज उठेको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस विषयमा सबै अधिकार अध्यक्ष ओलीकै भएको स्पष्ट पारे । ‘त्यो प्रधानमन्त्रीको विवेकमा भर पर्ने कुरा हो । हामीले यसबारे केही भन्नु पर्दैन,’ उनले भने ।

२०७८ असार ३० गते नेपाली कांग्रेससँगको सातबुँदे सहमति पश्चात् प्रधानमन्त्री नियुक्त भएका ओलीले ३१ गते मन्त्रिपरिषद् गठन गरेका थिए । नियुक्तिपछि उनले १ वर्षभित्र कार्यसम्पादन हेरेर समीक्षा गर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.