विराटनगर सीमा क्षेत्रबाट ६२ जनालाई फकाईयो, भारतबाट २ जनाको उद्धार

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ८, बिहीबार १९:५२

विराटनगर । माइती नेपाल विराटनगरले पछिल्लो ६ महिनामा ६२ जनालाई सीमा क्षेत्रबाट फर्काएको छ ।

माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले विराटनगर रानी सीमा क्षेत्रबाट ६२ महिला तथा बालिकालाई फर्काइएको जानकारी दिए । माइती नेपाल विराटनगरले बाल यौन शोषण तथा मानव बेचबिखनविरुद्ध आज (बिहीबार) आयोजना गरेको क्षमता विकास कार्यक्रममा सो जानकारी दिइएको हो ।

मानव बेचबिखनको जोखिममा रहेका उनीहरुलाई सीमा क्षेत्रबाट फर्काइएको कार्यक्रम संयोजक पोखरेलले बताए । उनका अनुसार सीमा क्षेत्रबाट फर्काइएकामध्ये ३६ जना मोरङका छन् ।

सन् २०२५ जनवरी १ देखि जुनसम्मको अवधिमा भारतबाट २ जनाको उद्धार गरिएको, घरेलु हिंसाका ३२ वटा घटना भएको, बेपत्ता भएका १८ जनामध्ये ५ जना फेला परेको कार्यक्रम संयोजक पोखरेलको भनाइ छ ।

कार्यक्रममा माइती नेपालकी गीताञ्जली शर्माले बाल यौन शोषण र मानव बेचबिखन सम्बन्धी प्रस्तुतीकरण दिएकी थिइन् । उनले अध्ययनका क्रममा पारिवारिक बेमेलका कारण महिला तथा बालबालिकाले घर छाडेर हिँड्ने गरेको पाइएको बताइन् ।

राष्ट्रिय बाल अधिकार परिषद्का कोशी प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले खोजतलास १०४ को कार्य र माइती नेपालसँगको समन्वयको लगायतको विषयमा बोलेका थिए । इलाका प्रहरी कार्यालय रानीका मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक (असई) बाबुराम खनालले मानव बेचबिखनसम्बन्धी कानुनी पक्षबारे जानकारी दिँदै सीमामा रोकिएका बालिका तथा महिलाको उद्धारपछि संग–संस्थासँग कसरी समन्वय गरेर काम अगाडि बढाइन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रानी, सशस्त्र प्रहरी बल, राष्ट्रिय बाल कल्याण परिषद् अन्तर्गतको खोजतलास १०४, विराटनगर महानगरपालिका वडा नम्बर ४, १३, १५, १६ र १७ मा कार्यरत स्वयंसेविका, माइती नेपालद्वारा गठन गरिएको ‘सेफ्टी नेट सञ्जाल’ वडा नम्बर ८, १३, १५ र १६ का संयोजकहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.