प्रधानमन्त्री ओलीद्वारा सुख्खाग्रस्त तराई–मधेशको अवलोकन, किसानसँग प्रत्यक्ष संवाद

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार १४:२२

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन महिनासम्म पनि पर्याप्त वर्षा नभएको र सुख्खाका कारण धान रोपाइँ हुन नसकेको तराई–मधेश क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार बिहान सुख्खाग्रस्त क्षेत्रको अवलोकन र स्थानीय जनप्रतिनिधि तथा किसानहरूसँग प्रत्यक्ष संवादमा सहभागी भएर महोत्तरी हुँदै बारातर्फ जान लागेका छन् । उनले बिहान १० बजे महोत्तरीबाट निरीक्षण सुरु गरी त्यहाँका अवस्थाबारे जानकारी लिएका छन् ।

साउनको पहिलो साता सकिँदै गर्दा पनि धान रोपाइँ नहुनु गम्भीर अवस्था भएको उनले बताए । रोपाइँ प्रभावित हुँदा भविष्यमा खाद्यान्न सुरक्षामा असर पुग्ने छ ।

अवलोकनअघि सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्रीले भनेका थिए, ‘तराई–मधेशमा लागेको सुख्खाले गर्दा साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँका वस्तुस्थिति हेरेर स्थानीय किसानका समस्या सुन्ने उद्देश्यले आज महोत्तरी र बारातर्फ जाँदै छु ।’ यो भ्रमणसँगै प्रधानमन्त्रीले केही भवन र पुलको उद्घाटन गर्ने छन् ।

यसअघि साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई ३ महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । वर्षा नहुनु र जमिन सुक्खा भइरहनुले कृषिमा अत्यन्त गम्भीर असर पारिरहेको देखिएको छ ।

यही सन्दर्भमा प्रधानमन्त्रीले केही दिनअघि सम्बन्धित मन्त्रालय, प्रदेश सरकार र उच्च प्रशासनिक अधिकारीसँग छलफल गरी समस्या समाधानको उपायबारे तयारी सुरु गरिसकेको बताएका थिए । प्रधानमन्त्रीको यो अवलोकन भ्रमणलाई स्थानीय जनप्रतिनिधिहरूले समस्यालाई केन्द्रमा राखिएको सकारात्मक कदम भनेका छन् ।

प्रधानमन्त्रीको भ्रमणसँगै सरकारले राहत तथा विकल्पमूलक कृषिजन्य योजनालाई चाँडो कार्यान्वयनमा ल्याउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.