
इटहरी । पछिल्ला वर्षहरूमा आवश्यक सीप सिकेर तथा दक्षता हासिल गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै छोटो अवधिको ‘केयर ट्रेनिङ’ प्रति आकर्षित हुनथालेको छन् ।
इटहरीमा सञ्चालित यलम्बर केयर गिभर ट्रेनिङ सेन्टरमा ३ वर्षको अवधिमा विदेश जानकै लागि ५ सय भन्दा बढीले तालिम लिएका छन् ।
तालिम लिनेमध्ये सबैभन्दा बढी इजरायल जाने तयारीमा रहेका छन् । जसमा अहिलेसम्म ६२ जनाले आवेदन पेस गरेका छन् । तीमध्ये १६ जनाको इजरायल जाने अन्तिम तयारीमा रहेको यलम्बर केयर गिभर ट्रेनिङ सेन्टरका निर्देशक नरेन्द्र दंगालले बताए ।
उनकाअनुसार इजरायल जाँदा ज्येष्ठ नागरिकहरूको हेरचाह गर्न जानेले आकर्षक तलब पाउने भएकाले गर्दा पनि ‘केयर ट्रेनिङ’ तालिम लिनेको जमघट हुने गरेको हो ।
इजरायलबाहेक केही युकेसमेत गएका छन् । युके जानका लागि इटहरीकै सञ्चिता घिमिरेले छोटो अवधिको केयर ट्रेनिङ लिई सकेकी छन् ।
उनी भन्छिन्, ‘मेरो त श्रीमान् युके भए पनि त्यहाँ गएर बढी पैसा कमाउने भएकाले गर्दा ज्येष्ठ नागरिक हेरचाह तालिम लिएको हो ।’
यति बेला इटहरीमा ‘केयर ट्रेनिङ’ सेन्टर ३ वटा छन् । यद्यपि, सीटीईभीटीबाट मान्यता प्राप्त एउटा मात्र छ, यलम्बर केयर ट्रेनिङ हो । ‘पूर्वको इटहरीमा हाम्रो केयर ट्रेनिङमा व्यवस्थित ल्याब भएकाले गर्दा पनि विद्यार्थीको चाप रहेको छ,’ दंगालले भने, ‘पछिल्लो समय विदेशमा मात्र नभएर स्वदेशमै पनि ज्येष्ठ नागरिक र बालबालिका हेर्नका लागि हेरालुको माग बढ्दो छ ।’
विशेष गरी कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई हेरचाह गर्न ‘केयर ट्रेनिङ’ मा सिक्न आउने गरेका छन् ।
‘जो जो विदेश जान्छन्, त्यहाँ उनीहरूको कमाइ राम्रो हुन्छ,’ उनले भने, ‘अब त नेपालमा पनि ज्येष्ठ नागरिक र बालबालिका हेरचाह गर्ने को माग धेरै आउने गरेको छ ।’
ज्येष्ठ नागरिक र बालबालिकासँगै अशक्त, अपांग भएका व्यक्तिलाई हेरचाह गर्ने भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएका कारण ‘केयर ट्रेनिङ’ सेन्टर खोजी गरी सिप सिक्ने संस्कार पूरै बढेको इजरायलमा लामो समय बसेर फर्किएर केयर ट्रेनिङ सेन्टरमा प्रशिक्षकको काम गर्दै आएकी कमला निरौलाले बताइन् ।
‘केयर ट्रेनिङ’ मार्फत तालिम लिएर विदेश जाँदा इजरायल, युके र युरोपियन मुलुक जाने क्रम बढेको छ ।























