
काठमाडौं । सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेश प्रदेशमा तत्काल ५ सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने गरी ५ सय डीप बोरिङ गाडिने घोषणा गरेका हुन् ।
‘तत्काल केही डिप बोरिङहरू जडान हुन्छ । तत्कालका लागि ५ सय जति डिप बोरिङ गर्नेछौँ,’ उनले भने,‘एउटाले लगभग ६० बिघा जमिन सिंचाइ गर्न सकिन्छ ।’
पानीको अभावका कारण मधेस सुख्खाग्रस्त भएको बताउँदै सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको उनले बताए । सरकार संकटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरू सुरु गरिसकेको उनले बताए ।
प्रधानमन्त्री ओलीले ८ वटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता पनि सो क्रममा जनाए ।
























