
विराटनगर । झापाको हल्दीबारी गाउँपालिका-४, ओली चोकमा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । अन्य दुई जना भने उपचारपछि डिस्चार्ज भएका छन् ।
उपचारका क्रममा घरधनी ६० वर्षीय पुण्य प्रसाद ओलीको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । आगलागीमा परी घाइते भएका अन्य दुई जना, ५९ वर्षीया गोमा देवी ओली र ३३ वर्षीय सन्तोष ओली भने उपचारपछि निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत मंगलबार बिहान करिब ८:४० बजे स्थानीय ६० वर्षीय पुण्य प्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तल्लामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।
आगलागीमा परी घरधनी पुण्य प्रसाद ओलीसहित परिवारका चार जना घाइते भएका थिए । आगो निभाउने क्रममा घाइते भएका सबैलाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनीहरुलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा रेफर गरिएको थियो ।

























