विद्या भण्डारी सानो हावाको झोक्का हुन् : केपी शर्मा ओली

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ११, आइतबार ११:२२

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई ‘पार्टीमा देखाइएको हावाको झोक्का’को पछाडि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन्। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरूलाई यस्तो निर्देशन दिएका हुन्।

भर्खरै सम्पन्न एमालेको नवौं केन्द्रीय किमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश प्रवाह गरेकोमा धन्यवाद दिँदै अध्यक्ष ओलीले संघर्षपूर्ण इतिहासमा ठूला–ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लोपटक देखाउन खोजिएको सानो हावाको झोक्काले केही असर नपार्ने बताए।

‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरू संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं’, बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो। सामान्य रुपमा समाधान हुन्छ । तपाईंहरू यसमा अल्मलिनुभन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्।’

राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय कामहरू देखेर अत्तालिएका शत्तिहरूकै कारण पार्टीभित्र अस्थिरताको हावा चलाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिंगो एमालेका लागि दुःखत कुरा भएको बताएको बैठकमा सहभागि एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए।

‘पार्टीको महत्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनुभएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं’, उनले थपे, ‘लामो समय जारी राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतन्त्रिक गणतन्त्रको प्रतीमाका रुपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ।’

देशकै अविभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण नवौँ केन्द्रीय कमिटीमार्फत् एमाले पछिल्लो निर्णयमा पुग्नु परेको बताएका अध्यक्ष ओलीले कर्णालीका दसवटै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न एक सुत्रीय अर्जुन दृष्टिका साथ लाग्न निर्देशन दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.