
विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम सुरु गरेको छ ।
रेडक्रसले ७ दिने विपद् व्यवस्थापन परिचालन सम्बन्धी आधारभूत तालिम आइतबारदेखि सुरु गरेको हो ।
मानवीय जीवनशैली सचेतनाको अवस्था तथा पहुँचको अभावले गर्दा ग्रामीण क्षेत्र अझ बढी विपद्को जोखिममा रहेको भन्दै बढी जोखिम हुने क्षेत्रलाई मध्यनजर गर्दे आधारभूत तालिम सञ्चालन गरेको बताइएको छ ।
प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली, पूर्व तयारी, उद्धार, राहत एवम् पुनर्स्थापना गर्नका लागि सहज बनाउने उद्देश्यले तालिम आयोजना गरिएको रेडक्रस मोरङका सभापति शुकदेव मण्डलले बताए ।
उनका अनुसार विभिन्न स्थानीय तहलाई बहु प्रकोप बाट सुरक्षित बनाउन, आपत्कालीन प्रतिक्रिया प्रणालीलाई सुदृढ गर्दै समयमै प्रभावकारी सहयोग प्रदान गर्नका लागि तालिम आयोजना गरेको हो ।
आपत्कालीन अवस्थामा तथा विनाशकारी विपत्तिमा प्रतिकार्यका लागि उच्च दक्षता भएका आपत्कालीन प्रतिकार्य टोलीको विकास गर्दै समुदायमा हुने विपद्को समयमा सुरक्षा र गुणस्तरीयतालाई सुनिश्चित आवश्यक पर्ने आधारभूत ज्ञान, सीप प्रदान गर्ने अभिप्रायले तालिम आयोजना गरेको मण्डलले प्रस्ट्याए ।
तालिममा रंगेली, सुन्दरहरैँचा, बेलबारी, कटहरी, जहदा गाउँपालिकाका विपद्का क्षेत्रमा काम गर्ने स्थानीयहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मोरङमा आत्महत्या, आगलागी, दुर्घटना, सर्पदंश, करेन्ट, डुबानलगायतका घटनाहरू बढी घट्ने भएकाले यो तालिमबाट व्यवस्थापन र प्रतिकार्यमा सहज हुने बताए ।
तालिममा विपद् सम्बन्धी विद्यमान ऐन, कानुन, विपद्का बेला कसरी सजग रहने भन्ने विषयमा तालिममा सहजीकरण गरिने छ ।























