
विराटनगर । गोसाइँकुण्डमा नुहाउने क्रममा बेपत्ता भएका मोरङका २ युवकको खोजी कार्य आज पनि विहानैबाट जारी रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरूमा मोरङ, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङकै बेलबारी नगरपालिका निवासी मनोज न्यौपाने छन् ।
तीर्थयात्राका लागि पुगेका ती युवा गहिरो स्थानमा स्नान गर्न कुण्डमा पसेपछि डुबेको आशंका गरिएको छ ।
घटनापछि सुरक्षासम्बन्धी निकायले खोजी कार्य तीव्र बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरूको टोली आइतबार नै घटनास्थलतर्फ पठाइएको छ ।
हाल कुण्ड आसपास र पानीको गहिराइमा खोजी कार्य जारी छ ।























