तमोर करिडोर र मेची राजमार्गसहित देशभरका ४ राजमार्ग अवरुद्ध

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार ०९:४८

विराटनगर । लगातारको बर्षा र पहिरोका कारण देशभरका ४ राजमार्ग अवरुद्ध बनेका छन् ।

पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ भने, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोकै कारण अवरुद्ध भएको हो ।

यस्तै जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्ग पूर्णरूपमा बन्द भएको छ । माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यता लगातारको वर्षाका कारण बाढी आउँदा तमोर करिडोरको पाँचथर–धनकुटा र मेची राजमार्गको पाँचथर खण्ड अवरुद्ध भएको छ ।

मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हेवा खोलामा बाढी आएर त्यहाँ निर्मित डाइभर्सनको सतह पार गरेपछि आइबार मध्यरातदेखि यो सडक अवरुद्ध भएको हो ।

यस्तै तमोर करिडोरमा पर्ने नावा खोलामा बाढी आएपछि यो खण्डमा सवारी वारपार गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

उनका अनुसार तमोर करिडोरको नावा खोलामा रहेको झोलुङ्गे पुलबाट मोटरसाइकल भने आउ जाउ भइरहेका छन् ।

हेवा खोलामा भएको अवरोध पानीको सतह घटनासाथ डाइभर्सन मर्मत गरेर खुलाइने सडक डिभिजन इलामले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.