मन्त्री खड्काको राजीनामा

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १३, मंगलबार ११:२३

हेटौंडा । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामकुमार खड्काले पदबाट राजीनामा दिएका छन् ।

उनी सरकारको नेतृत्व गरिरहेका दल नेपाली कांग्रेसबाट मन्त्री बनेका थिए । उनले सोमबार साँझ मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा बुझाएका हुन् ।

खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । खड्काको उपस्थितिसँगै लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।

यसअघि ९ साउनमा प्रदेशका ४ जना मन्त्रीले पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ थिए ।

उनीहरुले राजीनामा दिएसँगै सोही दिन साँझ मुख्यमन्त्री लामाले पदमुक्त भएको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए । बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नै पार्टीका २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन् ।

अहिले त्यो संख्या २२ पुगेको छ । कांग्रेस संसदीय दलभित्रको विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले सोमबार मध्याह्नदेखि नै लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.