‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय’

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १४, बुधबार १५:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारलाई ‘भ्रष्टाचारको पर्याय’ भन्नु अन्यायपूर्ण भएको भन्दै सरकार भ्रष्टाचार नियन्त्रणमा सक्रिय रहेको दाबी गरेका छन् ।

राष्ट्रियसभा बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणलाई लिएर उठेका आरोपहरू अस्वीकार गर्दै सरकारको आलोचना ‘राजनीतिक हिसाबले प्रेरित’ भएको जिकिर गरे । बैठकमा बोल्दै उनले भने, ‘सरकारले यदि कसैलाई भ्रष्टाचार गरेकोमा कारबाही गर्छ भने पनि उल्टै सरकारलाई नै बदनाम गर्ने चलन चलेको छ । यो दुर्भाग्यपूर्ण हो । छ्यालब्याल भ्रष्टाचार भएको भनेर सरकारलाई पर्याय बनाउनेहरू आफैं कुन नियतले बोल्छन् । त्यो पनि बुझ्न जरुरी छ ।’

उनले सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरे । सरकारले कुनै पनि हालतमा भ्रष्टाचारलाई संरक्षण गर्न नचाहेको उनले बताए । ‘भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने हो भने त्यो त भ्रष्टाचारलाई खुला छुट दिनु भयो नि,’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘यदि कसैले भ्रष्टाचार गर्छ भने उसलाई कारबाही हुन्छ । यही त गर्नु पर्ने हो ।’

नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले सरकार भ्रष्टाचारको पर्याय बनेको आरोप लगाएपछि प्रधानमन्त्री ओलीबाट यस्तो प्रतिक्रिया आएको हो । सांसद शर्माले बैठकको शून्य समयमा सरकार नै मुलुकमा फैलिएको भ्रष्टाचारको मूल केन्द्रजस्तो भएको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘भ्रष्टाचार मौलाउनुमा मुख्य दोषी सरकार स्वयं हो । सरकार र भ्रष्टाचार एक अर्काका पर्याय जस्तै बनेका छन् ।’

सांसद शर्माको टिप्पणीप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले गम्भीर विषयमा गम्भीरताका साथ छलफल गर्नुपर्ने आवश्यकता औंल्याए । ‘भ्रष्टाचार नियन्त्रणको कुरा गम्भीर हो । यसलाई राजनीतिक लाभको विषय बनाउनुहुँदैन । सरकार यो विषयमा सजग, प्रतिबद्ध र कठोर छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यको अन्त्यतिर आर्थिक विकास र समृद्धिको दिशामा सबै दल मिलेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए । ‘विकास, सुशासन र आर्थिक वृद्धि साझा एजेन्डा हुन्,’ उनले भने, ‘यी कुरामा राजनीति भन्दा माथि उठेर सहकार्य आवश्यक छ ।’

सरकारप्रति लगातार बढ्दो जनआक्रोश, विभिन्न मन्त्रालय तथा निकायमा देखिएको अनियमितता र अख्तियारको सक्रियता बीच प्रधानमन्त्रीले सरकार भ्रष्टाचार नियन्त्रणमा सक्रिय रहेको दाबी गरेका हुन् ।

ब्कप ऋजबतन्एत्

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.