
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारविरुद्ध सडकसँगै सदनमा पनि आन्दोलन गर्ने निर्णय गरेको छ । रुपन्देहीको भैरहवामा आज दिउसो बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणसहित भ्रष्टाचारका मुद्दामा सदनसँगै सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई सदनसँगै सडकसम्म पुराएर फराकिलो बनाउने निर्णय भएको जानकारी दिए ।
भूमिसम्बन्धी विधेयक, निजामती विधेयक लगायतमा सरकारले संसद्लाई नै आक्रमण गरेकाले सशक्त आवाज उठाउने संसदीय दलको निर्णय छ ।
सर्वोच्च अदालतले प्रवासी नेपालीहरुलाई चुनावमा मताधिकार दिने व्यवस्था गरेकोमा त्यसको कार्यान्वनको लागि सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको परियारले बताए ।
गौतमबुद्ध विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुँदा रुपन्देहीको पर्यटन व्यवसायमा परेको असर, खडेरीले किसानलाई परेको मर्का, प्रवासी नेपालीलाई रास्वपासँग जोड्ने पार्टीका सांसदको भूमिकालगायत विषयमा छलफल भएको उनले जानकारी दिए ।
























