
विराटनगर । विराटनगरस्थित देवकोटा चोकको गल्लीमा छिरेपछि मेसिनको घुर्रघुर्र आवाज आइरहेको एउटा सानो पसल छ ।
त्यो मेसिनको आवाजको गतिसँगै एमडी समसुलको संघर्षको यात्रा र कथा पनि चलिरहेको छ । मोरङको धनपालथान गाउँपालिका–६ का उनी पहिले महावीर रोडको फुटपाथमा बसेर कपडा सिलाउने काम गर्थे ।
सडकको किनारमा राखिएको टेबल, कपडा सिलाउने मेसिन, केही टालाटुली कपडाहरू, त्यही थियो उनको संसार । तर, विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराएपछि उनले नयाँ ठाउँमा जानुपर्ने अवस्था आयो ।
सस्तो कोठा खोज्दै देवकोटा चोकमा पुगे । र, फेरी त्यहीँबाट सुरु भयो उनको कपडा ‘रिपेयरिङ सेन्टर’ । ‘पहिले म महावीर रोडमा बस्थेँ । त्यहाँ नगरपालिकाले दिक्क लगायो । त्यसपछि म यहाँ आएको हुँ । मैले त्यहाँ (महावीर रोडमा) १२ वर्ष बिताएँ,’ उनी भन्छन् ।
यो उनको पुर्खौली पेसा हो । बुवाबाट सिलाइको सिप सिकेका उनले यसैलाई आत्मनिर्भरको बाटो बनाएका छन् । उनी भन्छन्, ‘बाउले गर्नु हुन्थ्यो । त्यहीँबाट सिकेको हो । त्यसैले पुस्तौनी पेसा नै भन्नुपर्छ ।’
सानैदेखि मेसिनको आवाजसँगै हुर्किएका समसुलले कहिल्यै त्यस्तो ठूलो सपना देखेनन् । जुन पूरा गर्न असम्भव लागोस् । उनी सामान्य कमाइमै सन्तुष्टि देख्छन् र त्यही साधारण जीवनलाई नै सम्पूर्ण सम्झन्छन् ।
उनी हाँस्दै भन्छन्, ‘सपना देखेर मात्रै के हुन्छ र ? त्यो पूरा गर्न सक्नुपर्छ नि ।’ उनी यसैमा खुसी छन् । भाडामा भएपनि कोठा र पसल छ । नियमित ग्राहक छन् । उनलाई महानगरले अहिले दुःख दिएको छैन ।
विराटनगरका विभिन्न ठाउँबाट सिलाउनलाई कपडा लिएर आउनेहरू छन् । दिनको ५ सयदेखि ७ सय रूपैयाँसम्म आम्दानी हुन्छ । उनी पुराना (थोत्रा) कपडालाई ‘रिपेयरिङ’ गर्छन् । उनी भन्छन्, ‘यही कमाइले घर चल्छ । बच्चाको खर्च धानिन्छ । दालभात पाक्छ ।’
उनले घरमा केही बाख्रा पनि पालेका छन् । तर, त्यो सबै हेर्ने जिम्मा उनकी पत्नीको हो । उनी भन्छन्, ‘पैसा धेरै छैन । तर, मन शान्त छ । श्रीमती (पत्नी)ले घरमा बसेर बालबच्चा र बाख्राहरु हेर्ने काम गर्छिन् ।’
समसुलले कहिल्यै विदेश जाने सपना देखेनन् । न कतै तालिम लिएका छन्, न त कुनै ‘पढाइको डिग्री’ बोकेका छन् । तर, जीवनको पाठचाहिँ गहिरोसँग बुझेका छन् । उनी काम र कर्ममा विश्वास राख्छन् ।
‘सपना त त्यही हो । जुन पूरा गर्न सकियोस् । नत्र अधुरा सपना त बोझ हुन्छ,’ उनले भने । उनले भनेजस्तै उनको जिन्दगी आज साधारण देखिए पनि त्यसले सन्तोष र इमानदारिताको गहिरो धागो बुनेको छ । उनी नेपालमा आफ्नै पुर्खाको पेसा गरेर पनि बाँच्न सकिन्छ भन्ने उदाहरण हुन् ।























