विराटनगरका सबै वडामा एमालेको अधिवेशन

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १७, शनिबार ११:४१

विराटनगर । विराटनगर महानगरपालिकाका सबै वडामा नेकपा (एमाले)को तेस्रो वडा अधिवेशन चलिरहेको छ । शनिबार बिहानैदेखि अधिवेशन जारी रहेको हो ।

विराटनगर कोशी प्रदेशको एउटा मात्रै महानगर हो । विराटनगरमा १९ वटा वडा छन् । सबै वडाको अधिवेशन शनिबार नै सक्ने तयारी रहेको एमाले विराटनगरका सचिव विज्ञान चापागाईंले जानकारी दिए ।

उनका अनुसार अधिवेशनबाट सबै वडामा नयाँ नेतृत्व चयन हुने छ । प्राय सबैजसो वडामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ । सर्वसम्मत हुन नसकेको वडामा निर्वाचनमार्फत नेतृत्व चयान गर्ने तयारी छ ।

विराटनगरमा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूह मजबुत छ । भण्डारी समूहको नेतृत्व एमाले नेता विनोद ढकालले गरिरहेका छन् । एमाले विराटनगर–५ को वडा अधिवेशनलाई सम्बोधन गर्दै ढकालले पार्टीलाई एकताबद्ध बनाउन पूर्वराष्ट्रपतिलाई पनि पार्टीभित्र ठाउँ दिनुपर्ने धारणा राखे ।

वडाध्यक्ष राजेश गिरीको अध्यक्षतामा भएको अधिवेशनलाई सम्बोधन गर्दै ढकालले पूर्वराष्ट्रपतिलाई समेट्न नसके पार्टी एकताबद्ध हुन नसक्ने बताए । ‘पार्टीभित्र पूर्वराष्ट्रपतिलाई पनि समेट्नुपर्छ भनेर हामीले नेताहरुलाई अनौपचारिक र औपचारिक हिसाबले कुरा राखिसकेका छौं । उहाँ (विद्यादेवी भण्डारी) एमालेकै राजनीति गरेर राष्ट्रपति बन्नु भएको हो । उहाँलाई एमालेमा फर्किएर राजनीति गर्न कुनै गाह्रो छैन । यो कुरा नेताहरुलाई हामीले बुझाइसकेका छौं,’ ढकालले भने ।

एमाले विराटनगरको पहिलो सचिवालय बैठकले महानगरका १९ वटै वडाको अधिवेशन एकैदिन सम्पन्न गर्ने निर्णय यसअघि गरेको थियो । उक्त निर्णय अनुसार सबै वडामा पार्टीको तेस्रो अधिवेशन चलिरहेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.