
विराटनगर । कोशी प्रदेश सरकारले आफ्नो लेटरहेड परिवर्तन गरेको छ । आधिकारिक कागजात, लेटरहेड र सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको हो ।
यसअघि ‘प्रदेश सरकार,कोशी प्रदेश विराटनगर’ लेखिदै आएको थियो ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । प्रदेशमा अब ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेखिने छ ।
प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक तयार गरी प्रदेश सभामा पेश गरिने निर्णय भएको छ । मन्त्री भण्डारीका अनुसार यो विधेयक पारित भएपछि कोशी प्रदेशमा लिम्बु भाषा र मैथिली भाषा पनि सरकारी कामकाजको भाषा बन्ने बाटो खुल्नेछ ।
प्रतिपक्षी दलका सांसदहरुले दर्ता गरेको बिधेयक अगाडि बढाउन नमानेको सरकारले आफैं विधेयक तयार गरेर पेश गर्ने निर्णय गरेको हो ।
‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको मन्त्री भण्डारीले जानकारी दिए । विधेयक पारित भएसँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त लिम्बु भाषा र मैथिली भाषाले पनि सरकारी कामकाजको मान्यता पाउनेछन् । उक्त कानुन महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर कात्तिक २५ गतेबाट कार्यान्वयनमा जानेछ ।
कोशी प्रदेशको तथ्यांक व्यवस्थापनसम्बन्धी विधेयकलाई प्रदेश मामिला समितिबाट परिमार्जन गरी प्रदेश सभामा पेश गर्न स्वीकृति दिइएको छ । साथै, प्रदेश स्वास्थ्य नीति २०८२ लाई स्वीकृति दिने निर्णय भएको र शैक्षिक परामर्श तथा भाषा कक्षा सञ्चालनसम्बन्धी विधेयक प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
























