
विराटनगर । वैदेशिक रोजगारका लागि लाओस पुगेका मकवानपुरका २ जना युवाहरूले स्वदेश फर्काइदिन आग्रह गरेका छन् ।
दक्षिण पूर्वी एसियाली राष्ट्र लाओस पुगेका मकवानपुरको हेटौँडा –६ का निरन थापा र यामबहादुर बस्नेतले आफूहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काइदिन नेपाल सरकारसँग आग्रह गरेका हुन् ।
गत वर्ष मंसिरमा अनलाइन कामका लागि लाओसको गोल्डेन ट्रायांगल क्षेत्रमा रहेको भान पेक लानको ‘बुसाहांग’को कम्पनीमा पुगेका उनीहरूलाई कम्पनीले कामबाट निकालेको र पासपोर्टसमेत नदिएको गुनासो गर्दै बिचल्लीमा परेको बताएका छन् ।
गत वर्ष मंसिरमा अनलाइन कामका लागि भारतको कोलकाता हुँदै लाओस पुगेका थिए ।
दुवै जना नेपालस्थित एजेन्ट उपेन्द्र सेवान मार्फत लाओस पुग्न करिब १० लाख रुपैयाँ खर्च गरेका थिए । सुरुमा अनलाइनमा काम गर्ने र अनलाइनमार्फत सामान बेच्ने जिम्मेवारी दिइने भनिए पनि उनीहरू काममा पुगेपछि स्क्याम (अनलाइन ठगी) मा परेको थापाले बताए ।
उनीहरूले सुरुदेखि नै पूरा पारिश्रमिक नपाएको र मानसिक यातना भोगेको गुनासो गरेका छन् ।
पछिल्लो समय कम्पनीले कामबाट निकालेको र पासपोर्टसमेत नदिएकाले समस्या थपिएको उनीहरूको भनाइ छ ।
थापाले भने, ‘बुसाहांग कम्पनीमा कार्यरत अन्य सबै विदेशी कर्मचारी भारतीय, बंगलादेशी र पाकिस्तानीहरू फर्किसकेका छन् भने केही फर्कने क्रममा छन् । तर, हाम्रो पासपोर्ट कम्पनीले इमिग्रेसनमा पठाएको भनेर भनिरहेको छ, तर हामीले पाउन सकेका छैनौँ ।’
उनीहरूलाई वर्किङ भिसामा पठाइएको भनिए पनि भिजिट भिसामा पठाइएको खुलेको छ ।
बस्नेतले भने, ‘कम्पनीको मालिक पनि भागिसकेको सुनिएका छौँ । यसले झन् समस्या बढ्यो । हामीसँग पासपोर्ट नहुँदा आन्तरिक हवाई सेवा वा बसको सेवा लिँदा समेत समस्या भएको छ । हामीले सुरक्षित महसुस गरिरहेका छैनौँ । कहाँ खानु कहाँ बस्नु भएको रकम पनि सकिसक्यो । हामी यहाँबाट चाँडै घर फर्कन चाहन्छौँ ।’
लाओसमा अनलाइन ठगीका घटना बढेको र विशेष गरी गोल्डेन ट्रायांगल क्षेत्रमा लागुऔषधको कारोबार तथा आपराधिक क्रियाकलाप बढी हुने भएकाले थप जोखिम रहेको उनीहरूले औँल्याए ।
लाओसको राजधानी भियान्तियानस्थित नेपाली महावाणिज्य दूतावासका उप–काउन्सुलर किरण विक्रम शाहले पछिल्लो समय लाओसका विभिन्न कम्पनीबाट कर्मचारी बाहिरिने र निकाल्ने क्रम बढेको बताए ।
उनका अनुसार दैनिक ४ देखि ५ जना नेपालीहरू महावाणिज्य दूतावासको सम्पर्कमा आउने गरेका छन् र उनीहरूलाई सहजीकरण गरिँदै आएको छ ।
पासपोर्ट नभएको अवस्थामा कम्पनीसँग कुरा गर्ने र सहजीकरण गर्ने बाहेक, पीडित पक्षले परराष्ट्र मन्त्रालयमा निवेदन दिनुपर्छ ।
त्यसपछि थाइल्यान्डस्थित नेपाली राजदूतावास र लाओसस्थित महावाणिज्य दूतावासमा इमेलमार्फत पत्र आएपछि एक दिने कागजपत्र बनाएर सुरक्षित स्थल वा नेपाल फर्काउन सकिने प्रक्रिया रहेको शाहले बताए ।























