‘आदिवासी जनजातिका सांस्कृतिक थान अतिक्रमणको चपेटामा’

Share this
763shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन १९, सोमबार १५:०१

विराटनगर । आदिवासी जनजाति समुदायका सांस्कृतिक थानहरू कानुनी रूपमा दर्ता नहुँदा अतिक्रमणको चपेटामा परेको सरोकारवालाहरूले बताएका छन् ।

विराटनगरमा सोमबार आयोजित थान संस्कृति संरक्षणसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । प्रदेश सांसद समूह विराटनगर र सहारा नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले आदिवासी जनजातिहरूको संस्कृति जोगाउन थानहरूको संरक्षण आवश्यक रहेकोमा जोड दिए ।

लिम्बू पत्रकार संघका सुनसरीका अध्यक्ष स्वर्णिम हाङ लिम्बूले लिम्बू समुदायले मान्दै आएको यक (थान) अतिक्रमण भएपछि निजी खर्चमा जग्गा खरिद गरेर प्रयोग गर्नु परेको बताए । उनले यस्तो समस्या समाधान गर्न सरकारले कानुन बनाउनुपर्ने माग गरे ।

अर्का सहभागी रामभक्त कुरुङबाङले राज्यले नै कानुन बनाएर आदिवासी जनजातिका सांस्कृतिक भूमिहरू अतिक्रमण गरेको आरोप लगाए । उनले सरकारले कानुन बनाउँदा सरोकारवालाहरूसँगको संवादलाई प्राथमिकता दिनुपर्ने बताए ।

ग्रामथान संरक्षण समितिका संयोजक तेजनारायण चौधरीले थान संस्कृति लिखित रूपमा नहुँदा कानुनी प्रमाण जुटाउन कठिनाइ भएको र यसले गर्दा अदालतमा मुद्दाहरू कमजोर हुने गरेको बताए । उनले राजनीतिक दलहरूले यस विषयमा बेवास्ता गरेको आरोप लगाउँदै सरोकारवालाहरूसँगको छलफलपछि मात्र विधेयक ल्याउनुपर्नेमा जोड दिए ।

यसैगरी, सूर्य नारायण सन्थालले सन्थाल समुदायको ग्रामथान लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसका लागि राज्यले ठोस नीति बनाउनुपर्ने बताए ।
कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री जयराम यादवसहित मुसहर, विराट राजवंशी, धिमाल, चौधरी लगायत विभिन्न समुदायका अगुवाहरूले पनि सांस्कृतिक थानहरूको संरक्षणका लागि कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

यता, प्रदेशसभाका सांसदहरूले भने सांस्कृतिक थानको संरक्षणका लागि नीति निर्माण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव खेमराज तामाङले प्रदेश संस्कृति नीति निर्माण गर्दा थान संस्कृतिलाई पनि समावेश गर्ने योजना रहेको बताए ।

सामाजिक विकास मन्त्री पाँचकर्ण राईले संस्कृति नीतिमा सबैलाई समेटेर संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाउँदै यस विषयमा स्थानीय तहलाई पनि जिम्मेवार बनाइने उल्लेख गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.