बहुविवाहको विरोधमा ज्ञापनपत्र बुझाउन गएकासँग कोशीका मुख्यमन्त्रीको ‘झर्कोफर्को’

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २०, मंगलबार १७:३०

विराटनगर । बहुविवाहसम्बन्धी कानुन संशोधनको विरोधमा ज्ञापनपत्र बुझाउन पुगेका महिला नेतृहरुसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्कतकुमार कार्कीले ‘झर्कोफर्को’ गरेका छन् ।

सत्तारुढ २ दलसहित ५ राजनीतिक दलका महिला नेतृ बहुविवाहलाई मान्यता दिने गरी निर्माण गर्न लागिएको कानुनको विरोध गर्दै मंगलबार ज्ञापनपत्र बुझाउनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । ढिलोगरी कार्यालय पुगेका मुख्यमन्त्री कार्कीले ज्ञापनपत्र बुझ्ने क्रममा ‘झर्कोफर्को’ महिला नेतृहरु बताउँछन् ।

नेकपा (माओवादी केन्द्र)की महिला नेतृ लता न्यौपानेका अनुसार मुख्यमन्त्री कार्कीले दिउँसो १२ बजेको समय दिएका थिए । तर, महिला नेतृहरु पुग्दा उनी कार्यालयमा थिएनन् । टेलिफोन गरेर बोलाइयो । उनी करिब डेढ घण्टापछि कार्यालयमा उपस्थित भए । तर, झर्कोफर्को गर्दै ।

ज्ञापनपत्र बुझ्ने क्रममा कार्कीले सत्तापक्षीय दल नेकपा (एमाले) र नेपाली कांग्रेसका महिला नेतृहरुलाई देखेपछि ‘तपाईहरु पनि हल्लाको पछि लाग्ने’ ? भन्दै प्रश्न गरेका थिए । बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधन नुहने बताउँदै उनले यो विषयलाई प्रतिपक्षी दलले अनावश्यक रुपमा उचालेको आरोप लगाए ।

महिना नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेको मस्यौदाको विषयमा जानकारी गराउँदा समेत मुख्यमन्त्री मान्न तयार भएनन् । झर्कोफर्को मान्दै भएपनि ज्ञापनपत्र भने बुझेको नेतृ न्यौपानेले बताइन् ।

‘मुख्यमन्त्रीज्यू सुरुमा त बुझ्नका लागि आउनै मान्नु भएको थिएन । फोन गरेपछि बल्लबल्ल आउनु भयो,’ उनले भनिन्, ‘झर्को मान्नुभयो । ज्ञापनपत्र बुझाउन गएका हामीलाई अर्कै व्यवहार गर्नुभयो ।’

मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले ज्ञानपपत्र बुझ्ने क्रममा मुख्यमन्त्रीले झर्कोफर्को नगरेको दाबी गरे । ज्ञापनपत्र बुझाउने र बुझ्ने क्रममा आफू पनि मुख्यमन्त्रीको कार्यकक्षमा रहेको बताउँदै उनले भने, ‘त्यस्तो केही भएको छैन ।’ मुख्यमन्त्री कार्कीको पूर्वनिर्धारित कार्यक्रममा जान ढिलो भएका कारण ज्ञापनपत्र बुझ्नका लागि हतार चैं भएको लुइँटेलको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.