चरम गुटबन्दीले थलियो राप्रपाको आन्दोलन

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २२, बिहीबार ०८:०२

काठमाडौं । हिन्दुराष्ट्र र राजसंस्थाको मागलाई लिएर सडकमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्तरिक गुटबन्दीमा फसेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच चर्किएको विवाद उत्कर्षमा पुग्दा त्यसको असर आन्दोलनमा परेको छ । पार्टीमा छुट्टाछुट्टै भेला, बैठक र कार्यक्रम हुन थालेका छन् । संस्थापन पक्ष र असन्तुष्ट समूहबीचको तनावले आन्दोलनसमेत थला परेको छ ।

विवाद चुलिँदै गएपछि अध्यक्ष लिङ्देनले उपाध्यक्ष, प्रवक्ता, अनुशासन संयोजकलगायत नेताहरूलाई पदमुक्त गरे भने राणा पक्षले कार्यसम्पादन समितिको बैठक माग गर्दै दबाब दिएको छ । त्यहीबीच अध्यक्षको आलोचना गरेको निहुँमा स्वकीय सचिव छत्र खडायतले कार्यकर्ता राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् ।

घटनाको भिडियो सार्वजनिक भइसकेको छ । तर, पीडितको उजुरीमाथि न पार्टीले कारबाही गर्यो, न त प्रहरी प्रशासनले किटानी जाहेरी दर्ता गर्यो । पार्टीभित्र लामो समयदेखि सक्रिय नेताहरू राजीनामा दिन थालेका छन् ।

राणा समूहले अलग्गै भेला गर्न थालिएको छ । असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनको एकाधिकार, मनोमानी र व्यक्तिगत प्रवृत्तिविरुद्ध संघर्ष जारी राख्ने चेतावनी दिएको छ ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले भने यो विवाद सुनियोजित रूपमा ल्याइएको दाबी गर्दै अधिकांश कारबाहीहरू विधानअनुसार भएको बताए । तर, पार्टीभित्र आन्तरिक झगडाले राप्रपाको सडक आन्दोलन नै ओझेलमा परेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.