
विराटनगर । पर्यटन वर्षको उद्घाटनमा फजुल खर्च भएको गुनासो पछि कोशी प्रदेशको संसदीय समितिले पर्यटन, वन तथा वातावरण सचिव विशाल घिमिरेसँग बयान लिएको छ ।
शुक्रबार कोशी प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिले घिमिरेको बयान लिएको हो ।
चैत २७ गते पर्यटन वर्षको उद्घटन कार्यक्रममा भएको खर्चको भुक्तानी अपारदर्शी भएको थियो ।
घिमिरले अनुमानभन्दा बढी सहभागी आएपछि खर्च बढेको बताए । मन्त्रालयले सहभागी सङ्ख्या तथा खर्चको रेकर्ड व्यवस्थित गर्न नसक्दा समस्या उत्पन्न भएको उनले बताए ।
करिब ३० लाख रुपैयाँको अनुमानित बजेटमध्ये २९ लाख खर्च भए पनि तत्काल भुक्तानी दिन सकिने मात्र भुक्तानी दिइएको उनले बताए ।
उनले आफूले व्यक्तिगतरूपमा २ लाख ७६ हजार रुपैयाँ बैङ्कबाट निकालेर सम्बन्धित होटलहरूलाई भुक्तानी गराएको दाबी गरे । ‘ यसले प्रदेश सरकारलाई थप आर्थिक भार पारेको छैन, यो मेरो व्यक्तिगत खर्च हो’, घिमिरेले समितिमा भने, ‘समस्या कार्यक्रममा भएको व्यवस्थापनको कमजोरी हो, सुशासनमा हानि पुर्याएको छैन ।’
होटलका बिलमा मासु, मदिरालगायतका सामग्रीसमेत रहेका कारण मन्त्रालयबाट भुक्तानी गराउन नसकिएको उनले बताए । उनले सरकारी खर्च प्रणाली भन्दा बाहिरबाट आर्थिक वर्ष सकिएपछि भएको भुक्तानीका विषयमा सरकारको जवाफ माग गरेका थिए ।
























