महिला उद्यम समितिले तिजमा शुभकामना आदानप्रदान 

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार १७:४६
महिला उद्यम समितिले तिजमा शुभकामना आदानप्रदान 

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ ।

महिलाको हक, अधिकार र सशक्तीकरणको विषयलाई जोड दिइएको तिज विशेष कार्यक्रममा विभिन्न क्षेत्रका महिला अगुवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतित्व गरेकी समितिकी संयोजक श्रुति शर्माले कार्यक्रममा स्वागत महिलाहरूले घर, समाज र देशको उन्नतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।

उनले महिलाहरूले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्दै आत्मविश्वासका साथ एकजुट भएर व्यक्तिगत, व्यावसायिक, सामाजिक र राजनीतिक जीवनमा योगदान दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले महिलाहरूको समानता र स्वतन्त्रताका लागि निरन्तर संघर्ष भइरहेको बताइन् ।

उनले संविधानमा भएको ३३ प्रतिशत आरक्षणलाई ५० प्रतिशत  पुर्‍याउनु पर्ने र समानताका लागि महिलाहरू एकजुट भएर आवाज उठाउनुपर्ने आवश्यकता औँल्याइन् ।

तिजलाई शक्ति र संयमताको पर्वका रूपमा लिँदै महिलाहरूलाई आफूभित्रको शक्ति पहिचान गर्न र एक अर्काको प्रेरणा बन्न उनले आग्रह गरिन् ।

बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदारले कानुन बने पनि व्यवहारमा अझै महिलाहरू उत्पीडनमा रहेकाले अधिकार प्राप्तिका लागि आफैँले आवाज उठाउनुपर्ने र आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् ।

त्यस्तै, नेपाल उद्योग परिसंघकी उपाध्यक्ष गिरिजा सारडाले तिजलाई शक्तिको पर्वको रूपमा व्याख्या गर्दै महिलाहरूले आफूमा रहेको शक्तिको पहिचान गरी उद्यम तथा अन्य क्षेत्रमा सहभागिता बढाउनुपर्ने बताइन् ।

मोरङ प्रहरीकी डीएसपी कोपिला चुँडालले समाजमा महिला र पुरुषको सहअस्तित्व हुनुपर्ने र महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले समयको परिवर्तनसँगै महिलाहरूले आफ्नो हक, अधिकार र आर्थिक, सामाजिक तथा राजनीतिक पहुँचका लागि आवाज उठाउनुपर्नेमा जोड दिइन् ।

सो अवसरमा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी उपसचिव जानुका न्यौपानेलगायतले बोल्दै तिजलाई शक्ति, एकता र महिला सशक्तीकरणको पर्वका रूपमा उल्लेख गर्दै महिला अधिकार, समान अवसर र आत्मनिर्भरता अभिवृद्धिका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा सहभागीहरूले शुभकामना आदानप्रदान, कविता वाचन, मनोरञ्जनात्मक खेल, सांगीतिक प्रस्तुतिलगायत कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरू, महिला उद्यमीहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.