कोशी प्रदेशसभामा सांसदहरूको अभिव्यक्तिकाे माध्यम बन्यो गीत

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार १७:४९

विराटनगर । कोशी प्रदेश सभा बैठकमा सांसदहरूले आफ्ना भनाइ राख्नका लागि गीतलाई सशक्त माध्यम बनाएका छन् । सरकारको ध्यानाकर्षण गराउन र आफ्ना पीडा तथा आक्रोश पोख्न उनीहरूले सदनमा गीत गाउने शैली अपनाएका हुन्, जसले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।

साउन महिनामा मात्रै तीन जना सांसदले प्रदेश सभा बैठकमा गीत गाएर आफ्नो अभिव्यक्ति राखेका छन् ।

शुक्रबारको बैठकमा नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रमुख सचेतक विद्या चाम्लिङ राईले बहुविवाहलाई प्रोत्साहन हुने गरी संघीय सरकारले ल्याउन लागेको कानुनप्रति व्यङ्ग्य गर्दै गीत गाएकी थिइन् । पुरुषलाई ‘कान्छी उपहार’ दिने तयारीको विरोध गर्दै उनले सरकारको नियतमाथि प्रश्न उठाइन् ।

सरकार किन बहुलाउन आटेकाे छ ।
 बहुविवाह विधेयक ल्याउनै खाेज्या छ । 
कस्ताे हाे याे जनताकाे सरकार ? । 
भ्रष्टलाई छपक्कै लुकाउने  ।
विकृतिलाई विधेयक बनाइ देखाउने ।
कस्ताे हाे याे जनताकाे सरकार ? ।

गीत गाउनुअघि उनले आफू कलाकार नभए पनि भित्री पीडा पोख्न गीतको सहारा लिएको बताएकी थिइन् ।

माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा सदनमा गीत गाएर पटक-पटक चर्चामा आएका छन् । उनले साउन १३ गतेको बैठकमा भ्रष्टाचार र कुशासनविरुद्ध गीत गाएका थिए,
‘नालीमै मुख गाड्छौ किन हो सरकार ?
घुसखोरी, भ्रष्टाचार गर्‍यौ अत्याचार,
…जनता अन्धकारमा, सरकार भ्रष्टाचारमा’

सांसद शेर्पाले गहिरो पीडा र असन्तुष्टि व्यक्त गर्नका लागि गीत गाउने गरेको र यस माध्यमबाट व्यक्त गरिएका कुराहरू संघीय सरकारसम्म पुगेको अनुभव रहेको बताएका छन् ।

त्यस्तै, साउन ११ गते वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पनि विशेष समयमा बोल्दै गायक नवीन के भट्टराईको चर्चित गीत ‘खाँदै नखाएको विषले ज्युँदै मार्‍यो’ गाएर आफ्नो भावना व्यक्त गरेका थिए ।

सांसदहरू सामान्य वक्तव्यभन्दा गीतको माध्यमबाट राखिएको कुराले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण हुने बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.