रंगेलीमा १ महिनाको सिपमूलक तालिम सम्पन्न

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार ११:४७

रंगेली । मोरङको रंगेली नगरपालिका–६ मा रहेको गृह श्रमिक सिर्जनशील महिला समाज नेपालको आयोजनामा ‘एड्भान्स’ सिपमूलक तालिम सम्पन्न भएको छ ।

टेवा थापा खेल संस्थाको सहयोगमा सञ्चालित तालिम रंगेली नगरभित्रका महिलाहरूलाई आत्मनिर्भर बनाउनतर्फ लक्षित थियो । तालिम १ महिनासम्म चल्यो ।

‘संस्थागत विकास र दिगोपन’ भन्ने मूल नारासहित रंगेलीस्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा तालिम सञ्चालन गरिएको हो । बाँसबाट विभिन्न प्रकारका आधुनिक सजावटी तथा उपयोगी सामग्री बनाउने सिप सिकाउने यो तालिमको अन्त्यमा सहभागीहरूले आफूले बनाएका सामान प्रदर्शनी गरे ।

समापन कार्यक्रममा प्रदेशसभा सदस्य यशोधा कायस्थ प्रमुख अतिथि थिइन् । उपमेयर भूमि पराजुली, वडा अध्यक्ष सुजित मण्डल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटी, कोशीका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी, संस्थाका अध्यक्ष शान्ता श्रेष्ठ, अमृता राय, उषा कुँवर तथा स्थानीय बुद्धिजीवीहरू सहभागी थिए।

सहभागीहरूले तालिमबाट आफूहरू आत्मनिर्भर बन्ने विश्वास जागेको बताए । प्रशिक्षक गोपाल तामाङका अनुसार बाँसको चोया तथा जराबाट बनाइएका सजावटी सामग्रीहरू स्थानीय बजारमै बिक्री वितरण गरिनेछन् । बिक्री नभएका वस्तु बिक्रीका लागि अन्यत्र पठाउने पहल गरिने उनले बताए ।

तालिममा सहभागीहरूले सोफा, कुर्सी, टेबल, बक्सा, गिलास, फोटो फ्रेम, चराको सजावटी नमुना लगायतका वस्तुहरू निर्माण गरेका थिए । समापन समारोहमा अतिथिहरूलाई सहभागीहरूले आफैं बनाएका सामग्रीहरू मायाको चिनोस्वरूप हस्तान्तरण गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.