
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले हुलाकी सडकको रामचोक– हाटखोला खण्ड निर्माण तत्काल अघि नबढाए आमरण अनशन बस्ने घोषणा गरेका छन् ।
हुलाकी सडकको ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म बनेको छैन । तत्काल काम अघि बढाउन माग गर्दै उनले काम सुरु नभए प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।
आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकार भन्दा ठेकेदार शक्तिशाली भएको गुनासो गरे ।
‘सरकार भन्दा बलिया ठेकेदार हुन कि के कति कारणले बाटो बनिरहेको छैन,’ उनले भने,‘ यदि बाटो ठेकेदारले बनाएर भने ठेकेदारलाई कालो सूचीमा लिएर गएर नयाँ प्रक्रियाबाट जानु पर्छ भन्दा भएको छैन । किन भइरहेको छैन ?’
सडक निर्माणका लागि प्रदेश सरकारलाई अग्रसरता लिन आग्रह गरे । ‘ संघको काम भनेर प्रदेश पन्छिन मिल्दैन,प्रदेश सरकारले पनि सरकारजस्तो बलियो खुटटा बनाएर अगाडि आउनुपर्छ,’ उनले भने,‘ द्रुत गतिमा यो बाटो बन्नुपर्छ, बनेन भने हामीले हिजो रिले अनसन गर्याे, म प्रदेशसभा अगाडि आमरण अनशन बस्ने जानकारी गराउँछु ।’
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये हाटखोलादेखि रामचोकसम्म ६ किलोमिटर काम अतिसुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पूरा भएको छ ।
२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । पानी पर्दा हिलोका कारण हिँड्न नसकिने यो सडक घाम लाग्दा धुलोका कारण हिँड्न सक्ने अवस्था छैन ।
हुलाकी सडकको ६ किलोमिटर खण्डको मुख्य ठेकेदार श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि भए पनि निर्माण क्षेत्रमा मुख्य ठेकेदार देखिएका छैनन् । सुरुमा भुपाल श्रेष्ठले पेटी ठेकेदारको रूपमा काम गरेका थिए । श्रेष्ठ पनि भागेपछि उनको ठाउँमा अभिषेक गिरी आएका छन् ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार हुलाकी सडकको यो खण्डको ठेक्कार २०७६ सालमा ७७ करोड रुपैयाँमा ठेक्का लागेको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडकको पटकपटक म्याद थप भएको छ । फेरि म्याद थप गर्ने तयारी छ ।
























