
विराटनगर । जीवनको उर्जाशील उमेर आन्दोलनको मोर्चामा बिताएका वीर नेम्वाङलाई उनका साथी–संगी र चिन्नेहरू ‘जिउँदो इतिहास’ भन्छन् ।
मातृभाषा, संस्कृति र पहिचानको मुद्दामा उनले लक्का जवान हुँदा बोकेको अडानलाई आज पनि समयको धूलोले ढाक्न सकेको छैन । बरु उनले सुरु गरेको आन्दोलनले सार्थकता पाउँदैछ ।
२०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा प्रचार गर्दै राजनीतिक यात्राको सुरुवात गरेका नेम्वाङ अहिले धेरै बोल्दैनन् । तर, भन्छन्, ‘मैले उठाएको मुद्दा र राजनीतिक धारबाट म कहिल्यै टाढिएको छैन ।’
६७ वर्षको जीवनयात्राको यो मोडमा आइपुग्दा दशकौंको संघर्षको फल देख्दा वीर नेम्वाङ आज गर्विलो महसुस गर्छन् । कोशी प्रदेशले लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने भन्ने घोषणा सुन्दा उनलाई लाग्छ विगतको आन्दोलन साँच्चै सार्थक भयो । उनी भन्छन्, ‘विगतको आन्दोलनले सार्थकता पाउँदैछ ।’
भूमिगत संघर्ष
पञ्चायती व्यवस्थामा मातृभाषा शिक्षाको अभियान सुरु गर्नु सहज थिएन । गाउँ–गाउँमा भूमिगत रहँदै लिम्बू भाषा पठन–पाठनको बिउ रोप्थे उनी । पत्नी आशा नुगोले विगत सम्झिँदै भन्थिन्, ‘कस्तो–कस्तो दिन थियो । कम्ता दुःख पाएनौं भूमिगत हुँदा ?’
लिम्बू भाषा पढाएको अभियोगमा वीर नेम्वाङलाई पक्राउ गर्न वारेन्ट जारी भयो । त्यसपछि उनी भूमिगत भए । उनले स्थापना गरेको विद्यालयमाथि प्रतिबन्ध मात्र लागेन । विद्यालयसँग आबद्ध १८ जना पक्राउ परे ।
जनमत संग्रहमा पञ्चायतले जितेपछि पाँचथर, ताप्लेजुङ र सुनसरीका लिम्बू भाषाका विद्यालय फेरि बन्द गराइए । कयौँलाई धरपकड गरियो । लिम्बुवान स्वायत्तताको मागबारे सोध्दा उनी भन्छन्, ‘एकपल्ट तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले सोध्नुभयो, किन लिम्बुवान चाहिन्छ ? मैले भाषा बचाउन स्वायत्तता पनि चाहिन्छ भनें ।’
त्यो समय रोपेको आन्दोलनको बिउ
पान्थर याम्बोङमा २०४१ साल लिम्बुवान युवा संघर्ष समिति गठन भयो । गतिविधिहरूका लागि भारतको सिक्किम र दार्जिलिङका समुदायबाट सहयोग पाएको उनी सुनाउँछन् ।
त्यसो त सिक्किममा उनको कविताले मान्यता पायो । १९८४ मा सिक्किम सरकारको शिक्षा विभागले ‘मेनहक्माना नेप्फु?रे मिम’ कवितालाई कक्षा ११ र १२ को पाठ्यक्रममा राख्यो । त्यसलाई प्राज्ञ वैरागी काइँलाले ‘अव्यक्त प्रेम’ शीर्षकमा नेपालीमा अनुवाद गरी समकालीन साहित्यमा प्रकाशित गरे ।
हालै सोमहाङ खाम्धाकले सो कवितालाई युट्युबमा वाचन गरेका छन् । मातृभाषा चलचित्रका निर्देशक सागर केरुङ भन्छन्, ‘वीर नेम्वाङ आधुनिक कालका सिरिजंगा हुन् ।’ वीर नेम्वाङले जीवनभरको आफ्नो समय, शक्ति र सपना सबै लिम्बू भाषाको संरक्षण र प्रवर्धनमा समर्पण गरेको केरुङ सुनाउँछन् ।
गणतन्त्र आएपछि उनले जन्मगाउँ पान्थर याम्बोङदेखि लिम्बुवानका धेरै उच्च माध्यमिक विद्यालयमा लिम्बू भाषा पढाउन थालेको देखे । उनका भनाइ अनुसार अहिले सयौँ लिम्बू विद्यार्थी भारतको सिक्किमका विश्वविद्यालयमा अध्ययनरत छन् ।
यसै सन्दर्भमा, कोशी प्रदेश सरकारको निर्णयलाई स्वागत गर्दै नेम्वाङ भन्छन्, ‘भाषा आयोगको सिफारिसमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने निर्णय लिएर सरकारले हाम्रो सपना पूरा गर्न लागेको छ भन्ने महसुस भएको छ ।’























