
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई यो वर्षको कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
शनिबार बसेको कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरको बैठकले विष्टलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कार राशि २१ हजार एकसय १५ रुपैयाँ छ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पत्रकारिताको विषय अध्यापनसमेत गराउँदै आएका विष्ट गोरखापत्र दैनिक र अरुण खबर अनलाईनमा आबद्ध छन् ।
प्रतिष्ठानले यूवा उद्यमी सम्मानबाट ग्यालेक्सी सुज उद्योग विराटनगरका सञ्चालक चेतन निरौलालाई सम्मान गर्ने भएको छ ।
महिला उद्यमी सम्मानबाट बराह हर्बल उद्योग विराटनगरकी सञ्चालक अम्बिका भण्डारी, स्वर्गीय सिग्देलले अध्ययन गरेको सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयका छात्रा पिंकीकुमारी स्वर्णकार र छात्र सुशीलकुमार खत्वेलाई नगदसहित कदर पत्र प्रदान गरिने प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देलले जानकारी दिइन् ।
स्वर्गीय सिग्देलले सञ्चालन गरेको स्वस्तिका ट्रान्सपोर्ट प्रा लिका कर्मचारी कल्याण कोष र चालक कल्याण कोषलाई नगद क्रमश ५१ हजार र २१ हजार तथा मजदुरहरुलाई कपडा वितरण गरिने अध्यक्ष सिग्देलले जानकारी दिइन् । पुरस्कार साउन २७ गते वितरण गरिने छ ।























