सत्तारुढ दलका शीर्ष नेताबीच मन्त्री फेर्ने विषयमा छलफल

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार १८:४७

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताबीच मन्त्री फेर्ने विषयलाई लिएर आइतबार छलफल भएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे २ दलका नेताहरुको छलफल भएको हो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक लगायतका नेताबीच छलफल भएको हो ।

भेटमा सहभागी १ नेताका अनुसार सरकारको काम प्रभावकारी नभएकाले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरू बदलेर नयाँ मन्त्री नियुक्त गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले छलफलमा राखेका थिए । मन्त्रीको कार्यसम्पादन राम्रो नभएको र केही मन्त्री विवादमा परेको भन्दै ओलीले पुरानलाई बिदा दिएर नयाँ मन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

देउवाले भने पार्टीभित्र समीकरण मिलाउन गाह्रो हुने बताउँदै यस विषयमा थप छलफल आवश्यक रहकेो जवाफ दिए । स्रोतका अनुसार देउवा अहिले मन्त्री फेरेर पार्टीमा विवाद निम्त्याउन हुँदैन भन्ने पक्षमा छन् ।

एमालेले मन्त्री फेर्न सक्ने बताउँदै देउवाले कांग्रेसलाई भने त्यत्तिकै छाडिदिन भनेको स्रोतले बतायो । सरकार गठन भएपछि एमालेले २ मन्त्री परिवर्तन गरिसकेको छ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराई र संघीय मामिला तथा सामान्य प्रशासनन्त्री राजकुमार गुप्तालाई परिवर्तन गरिसकेको छ ।

भट्टराईका स्थानमा रघुजी पन्त र गुप्ताका स्थानमा भगवती न्यौपाने मन्त्री बनेका छन् । कांग्रेसले भने अहिलेसम्म कुनै मन्त्री फेरेको छैन । मन्त्री फेर्नेबाहेक शीर्ष नेताहरुको भेटमा भूमि विधेयक, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक र संघीय निजामती कर्मचारी विधेयकबारे पनि छलफल भएके बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.