
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा यसअघि नै मागेको पाइएको छ ।
नेपालविरुद्ध मुद्दा दायर भएको भोलिपल्टै खनालले राजीनामा मागेको खुलासा भएको हो । नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा असार २२ गते मुद्दा दायर भएको थियो । त्यसको भोलिपल्ट, असार २३ गते खनालले माधवलाई लिखित सुझाव पठाउँदै अध्यक्ष पदबाट अलग हुन आग्रह गरेका थिए ।
पत्रमा खनालले पार्टी अध्यक्षको हैसियतमै व्यक्तिगत मुद्दा लड्नु कार्यकर्ताहरूका लागि असहज हुने भन्दै नैतिकताको आधारमा पद छोडेर कानुनी लडाइँमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । ‘कमरेड माधवकुमार नेपालले आफैं नबिराउनु, नडराउनु भनेको अवस्थामा गल्ती नभएको हो भने डराउनु पर्ने कारण छैन। बरु अध्यक्ष पदबाट मुक्त भइ कानुनविद र बुद्धिजीवीहरूसँग गहिरो छलफल गर्दै आफ्नो मुद्दालाई दह्रो बनाउनुपर्छ,’ पत्रमा भनिएको छ।
खनालले यो मुद्दा व्यक्तिगत भएकाले सिंगो पार्टीले आधिकारिक रूपमा बोकेर समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् । उनका अनुसार पार्टीले व्यक्तिगत तथा कानुनी रूपमा सहयोग भने गर्नेछ ।
यो खुलासासँगै असारमै सुरु भएको नेतृत्व विवाद अहिले मात्र सार्वजनिक भएको हो । जसले पार्टीभित्र नयाँ राजनीतिक हलचलको संकेत दिएको छ । पछिल्लो समय नेपाल र खनाल एकअर्कालाई आरोप प्रत्यारोप गर्दै हिँडिरहेका छन् ।
























