
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सुशासनको आवश्यकता औँल्याउँदै भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीविरुद्ध कडा कदम चाल्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा मंगलबार राष्ट्रिय सतर्कता केन्द्रको २४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सबै सरकारी निकायले स्वच्छता र पारदर्शितालाई उच्च प्राथमिकता दिनुपर्ने बताउँदै बिना कुनै मोलाहिजा छानबिन र अनुगमन गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले भने, ‘देखिएका कमजोरीलाई खुल्ला रूपमा बैठकमा राख्नुस्, मेरो नामसमेत आए पनि भन्न नहिचकिचाउनुस् । कसैले मेरो नाममा गलत काम गराउन खोजे झपारेर पठाउनुस् ।’
उनले भ्रष्टाचार गर्ने व्यक्ति पदमुक्त भएपनि त्यसले अरुको सम्मानमा असर पर्ने स्पष्ट पारे । उनले, ‘नो वान लेफ्ट बिहाइन्ड’को सिद्धान्तअनुसार सबै नागरिकलाई सम्मानित र सुरक्षित जीवन प्रदान गर्नुपर्नेमा जोड दिए ।
नेपालको प्राकृतिक स्रोत र ज्ञानलाई विकासको मार्गमा अगाडि लैजान आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले देशमा असन्तुष्टि भड्काएर अराजकता मच्चाउने प्रयास भइरहेकाले सचेतनाका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय सतर्कता केन्द्रले भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल निर्माणमा प्रभावकारी भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन् ।
























