राजीनामा दिने रामहरिको तयारी

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २७, मंगलबार १४:४४
फाइल तस्बिर : रामहरि खतिवडा

काठमाडौं । ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडी छानबिन गर्न गठन गरिएको विशेष समितिले जिम्मेवार किटान गरेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन् ।

उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्न सभामुखसँग समय मागेका छन् । स्रोतका अनुसार बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरे र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग खतिवडाले छलफल गरेका थिए ।

विशेष समितिको प्रतिवेदनमा सभापति खतिवडाको भूमिका निकै गम्भीर देखिएको उल्लेख छ । प्रतिवेदनमा भनिएको थियो, ‘परिमार्जित मस्यौदा प्रतिवेदन समितिका सदस्यहरूलाई देखाई छलफल गरी सभामा पेस गर्नुपर्नेमा अनौपचारिक बैठक बसेर मिति २०८२।०२।१३ मा प्रतिवेदन पठाइएको देखिन्छ, जसले सभापतिको समन्वयकारी भूमिकामा कमी भएको पुष्टि गर्छ।’ साथै, प्रतिवेदन सभापतिको हस्ताक्षरबाट पेस भए पनि ‘उत्तरदायीपूर्ण भूमिका नभएको’ ठहर गरिएको छ ।

समितिका सचिव सुरजकुमार दुराको पनि भूमिका प्रतिवेदनमा कमजोर देखिएको छ । सचिवको हैसियतमा उनले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै भूमिका निर्वाह गरेको भए पनि जिम्मेवारी पूरा नगरेको भनिएको छ ।

प्रतिवेदनले कर्मचारीहरूबारे पनि टिप्पणी गर्दै ‘कुलिङ अफ पिरियड विषय हटाउन सार्वजनिक रूपमा लबिङ गर्नु पदाधिकारीहरूको पदीय आचरणअनुकूल नभएको’ उल्लेख गरेको छ । त्यस्तै, राज्य व्यवस्था समितिले पारित गरेको उक्त विषयमा सार्वजनिक रूपमा विपक्षमा देखिनु पनि शोभनीय नभएको प्रतिवेदनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.