
विराटनगर । कारागार व्यवस्थापनमा सुधार गर्न राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन दिएको छ ।
कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवीय व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन नेपाल सरकारलाई आयोगले निर्देशन दिएको हो ।
आयोगले कारागारहरूको अनुगमन गरी यसअघि दिएका सिफारिशको प्रभावकारी कार्यान्वयन गर्न, कारागार व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र बजेटको व्यवस्था गर्न, रूपन्देही तथा कैलाली कारागारलगायत सबै कारागारको क्षमता अभिवृद्ध गरी उचित सुधार गर्न निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा कैदीबन्दीको स्थानान्तरण प्रक्रिया पारदर्शी बनाउन, कारागारमा पटक–पटक हुने गरेका झडप दोहोरिन नदिने रणनीति तय गर्न, कारागारको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन, कारागारलाई सुधारगृहका रूपमा विकास गर्न भनिएको छ ।
कैलाली कारागारमा पछिल्लो पटक भएको झडपबाट उत्पन्न परिस्थितिको आयोगको सुदूरपश्चिम कार्यालयले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
कैलाली कारागारमा साउन २४ गते भएको घटना अगावै आयोगले गएको माघ ४ गते र यही साउन १९ गते सम्भावित घटनाप्रति सतर्कता अपनाउन कारागारसम्बद्ध निकायमा पत्राचार गरेको समेत जनाएको छ ।
पछिल्लो झडपको घटनामा एक जनाको ज्यान गएको थियो । आयोगले देशभरिका कारागारको अनुगमन गरी विभन्न समयमा प्रतिवेदन प्रकाशन र पत्राचारमार्फत कारागार सुधारका लागि नेपाल सरकारलाई सिफारिश गर्दै आएको छ ।
























