रास्वपा र राप्रपाले संसद बहिष्कारलाई निरन्तरता दिने

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २९, बिहीबार १४:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले आज (बिहीबार) पनि प्रतिनिधिसभा (संसद) बैठक बहिष्कार गरेका छन् ।

बैठक सुरु हुनुअघि राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले संसद्मा बढ्दै गएको अनियमितता नियन्त्रणका लागि न्यायिक छानबिन समिति गठन नभएसम्म बहिष्कारलाई निरन्तरता दिने घोषणा गरे । उनका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक कारण देखाएर दिएको राजीनामा सकारात्मक सन्देश भए पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्न र अन्य अनियमितताले छानबिन समितिको आवश्यकता बलियो बनेको छ ।

प्रधानले भने, ‘नियतवश भएको भए नैतिकताको आधारमा राजीनामा मात्रै दिएर पुग्छ कि पुग्दैन ? भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठेको छ । अनियमितता रोक्न न्यायिक समिति गठन हुनैपर्छ । हामी बहिष्कारको प्रक्रियामा छौँ ।’

रास्वपाकी सांसद चन्दा कार्कीले भने प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताइन् । उनले अदालतको फैसला सरकारको जिम्मेवारी नभएकोजस्तो देखाउने प्रवृत्ति स्वीकार्य नभएको भन्दै स्वतन्त्र न्यायपालिकामा राज्यको हस्तक्षेप अस्वीकार्य भएको प्रष्ट पारिन् ।

उनले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने आवश्यकतामा जोड दिँदै जनताको भावनाको कदर सबैले गर्नुपर्नेमा जोड दिइन् । यसअघि पनि राप्रपा र रास्वपाका सांसदहरूले यही मागहरू राख्दै प्रतिनिधिसभाका बैठकहरू बहिष्कार गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.